Site icon Our Belaka

छोराको हत्या अरोपमा ११ वर्षपछि बुवा पक्राउ

सुनसरी / छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०६६ सालमा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए ।छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं २०६६ मङ्सिर २२ गते ससुरालीघरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरु भएको सुनसरी प्रहरीले जनाएको छ ।

Exit mobile version