झापा/ केही महिना अघिदेखि लक्षणसहितका कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै नेपालमा गम्भीर प्रकारका संक्रमित बढ्दै जान थालेका छन् । जसले गर्दा दैनिक संक्रमितको मृत्युको संख्यासमेत बढेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।यतिखेर मुख्यतः झापामा ७० देखि १ सयभन्दा बढी संक्रमित देखा पर्दै आएका छन् । उपत्यकामा संक्रमण समुदायस्तरमै पुगेपछि संक्रमण बढी भएको विज्ञहरूले बताइरहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कात्तिक महिनामा मात्र ४२ जनाको मृत्यु भएको छ ।साउनमा १ जना, भदौमा २ जना, असोजमा २१ जना र कात्तिकमा ४२ जना गरी बिहीबारसम्ममा झापामा ७२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईँले बताए ।मृत्यु भएका ७२ जनामा झापाको दमकमा मात्र २६ जनाको मृत्यु भएको स्वास्थ्य शाखा दमकले जनाएको छ । दमकमा असोजमा ३ र कात्तिकमा २३ जनाको मृत्यु भएको दमक स्वास्थ्य शाखाका नासु कुवेर भट्टराईले बताए ।पछिल्लो केही दिनयता आइसियु र भेन्टिलेटरमा जाने संक्रमितको संख्या बढ्नुमा दशैँको बीचमा धेरै गम्भीर संक्रमितहरू पनि होम आइसोलेसनमै बस्नुले हो ।गम्भीर प्रकृतिका संक्रमितहरू पनि धेरै होम आइसोलेसनमा बस्ने र एकदमै गाह्रो भएपछि मात्रै ढिलो गरी अस्पतालमा आउनाले आइसियु र भेन्टिलेटरमा जाने संक्रमित बढेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए ।उनले भने, ‘अस्पतालमै राखेर उपचार गर्नुपर्ने खालका संक्रमित पनि धेरै घरमै बस्नु र दशैँको बेला धेरै संक्रमितले हेल्चेक्रयाइँ गरेर संक्रमणले धेरै गाह्रो बनाएपछि ढिलो गरी अस्पतालमा आउनाले आइसियु र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको हो ।


