आवर बेलका/ गाइघाट्मा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् ।
जिल्ला सदरमुकाम गाइघाटमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा-विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर यूवा र विद्यार्थीहरुले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गर्दै अनेरास्ववियू , सम्योजक बिमल कार्किले ओलीलाई पार्टीबाटै निष्कासन गर्न माग गरे ।
‘ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्ने नैतिकता गुमाइ सकेका छन्,’ संयोजक कार्किले भने, ‘ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निस्कासन गरियोस ।’
त्यस्तै लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु गर्न लागेको अनेरास्ववियुका केन्द्रीय सदस्य भरत घिमिरेले बताए । ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गर्नुभएको छ,’ केन्द्रीय सदस्य घिमिरेले भने, ‘गणतन्त्रको रक्षाका निम्ति आन्दोलनको आगो बाल्छौं ।’
नेपाली जनताले लडेर लियाएको गणतन्त्र विरुद्ध प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको बताए राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मन्दीप राइले ।
