उदयपुर जिल्लाको बेलका नगरपालिकामा स्थापना हुने अक्सिजन प्लान्ट सोमबार बेलका नगर परिसरमा आईपुगेको छ। ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’भन्ने नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि भवन तयारी भैसकेको छ। सोमबार बिहान अक्सिजन प्लान्ट बेलका नगर पालिकामा ल्याइएको छ।
दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट भदौ १५ गते सम्म जडान गरि उत्पादन शुरु हुने बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिए।
अक्सिजन प्लान्ट टर्की बाट ल्याइएको हो।
राष्ट्रिय आबिष्कार केन्द्रले अक्सिजन प्लान्टको इस्फेसिकेशन गरि पुर्ण रुपमा प्रमाणीकरण गरेपछि मात्र पि.डि इन्जिनियरिङ प्रा.लि.लाई दोस्रो किस्ता बापतको रकम भुक्तानी दिन्छौ, हामिले अक्सिजन सङ्ग सङै नाइट्रोजन ग्यास समेत उत्पादन गर्ने गरि प्लान्ट स्थापना गर्न लागेको नगर प्रमुख थापाले बताए।
पछिल्लो समय अक्सिजनको चरम अभाव भए सँगै कोरोना संक्रमितहरुले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो। धेरै रकम लगानी भन्दा पनि धेरैको सहभागितामा निर्माण गर्ने नगरको योजना बमोजिम भदौ १५ देखि उत्पादन शुरु भएसङै बेलका नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने मेयर थापाले बताए।
अक्सिजन प्लान्ट स्थापनाको लागि उदयपुरका ८ वटा स्थानिय तह, छिमेकी पालिका, विभिन्न गैर सरकारी संस्थाहरु र विभिन्न ब्याक्तिको आर्थिक सहयोगमा सन्चालनमा आउन लागेको हो।


