गर्भवती भएपछि किन रोकिन्छ महिनावारी ?
पहिलो पटक महिनावारी हुने किशोरीहरूलाई थाहा नहुन सक्छ कि यस्तो किन भइरहेछ । अहिले भने किशोरी कक्षा तथा विद्यालयमा हुने पढाइका कारण केही हदसम्म सहज भने भएको छ । तर, पनि ग्रामीण वस्तीमा अझै पनि महिनावारीबारे सचेतना फैलाउन सकिएको छैन ।
उनीहरूलाई महिनावारी किन हुन्छ र हरेक महिना नै किन हुन्छ भन्ने जानकारी नहुन सक्छ । विशेषज्ञका अनुसार किशोरीहरूमा रजस्वला शुरू हुनु भनेको अण्डाशय अब अण्डा बनाउन विकसित भएको छ भन्नु हो, जुन गर्भधारणका लागि एकदमै जरुरी हुन्छ । यही कारण महिलाहरूमा महिनावारी हुन्छ ।
हरेक महिना किन हुन्छ रजस्वला ?
महिलाको अण्डाशयमा लाखौं संख्यामा अण्डाहरू हुन्छन् । जब बालिका किशोरी हुँदै जान्छिन् तब महिनामा एक पटक अण्डा परिपक्व भएर अण्डाशयबाट गर्भाशयमा जान्छ । त्यसपछि गर्भावस्थाको तयारीमा पाठेघरको भित्री भाग बाक्लो हुन थाल्छ । यदि शुक्रकीटद्वारा डिम्ब फर्टिलाइज नभएमा यो पाठेघरमा रहँदैन र पाठेघरको मुखबाट रगतको रूपमा योनीबाट बाहिर निस्कन्छ । यो प्रक्रियालाई महिनावारी भनिन्छ ।
गर्भावस्थामा महिनावारी किन रोकिन्छ ?
एकै समयमा, जब अण्डा फर्टिलाइज हुन्छ, यो पाठेघरको लेयरमा जोडेर बढ्न थाल्छ र बग्दैन, त्यसैले प्रसव नभएसम्म (पूर्ण ९ महिनाको लागि) महिनावारी रोकिन्छ।


