NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

बेहुलाबेहुलिलाई जनप्रतिनिधिको सुभकामना, गर्भ बसेको देखी विभिन्न टिप्स

1 Mins read

धनकुटाका ३० वर्षे भरत अधिकारी र सुनसरीकी २६ वर्षीया कृतिका कार्कीबीच विवाह हुँदै थियाे । महालक्ष्मी नगरपालिका-५, लेगुवा मिलामचुङस्थित अधिकारीकाे घरमा भइरहेको समारोहमा पुगेर नगरप्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी, वडाध्यक्षलगायतले शुभकामनासाथ एउटा ‘कार्ड’ थमाए । ‘नवदम्पतीलाई शुभकामना’ लेखिएको कार्ड दिँदै मेयर नेपालले भने, ‘शुभेच्छासँगै तपाईंहरूको जीवनमा काम लाग्ने महत्त्वपूर्ण जानकारीहरू यो कार्डभित्र समावेश छ । यसमा लेखिएअनुसार काम गर्नुभयो भने तपाईंहरूको आगामी दिन सुखमय हुने पक्का छ ।’

भरत र कृतिकाकाे मात्र हाेइन, चालू आर्थिक वर्षदेखि नगरपालिकाभित्र हुने प्रत्येक वैवाहिक समाराेहमा पुगेर जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीले नवदम्पतीलाई यस्तो कार्ड दिने गरेका छन् ।

महालक्ष्मी नगरका प्रमुख नेपालले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत नवविवाहित दम्पतीलाई शुभकामना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
नगरपालिकाकी उपप्रमुख अधिकारीले मातृ मृत्युदर, बाल मृत्युदर कम नभएकाे, अपाङ्गता भएका बच्चा जन्मिइरहेको तीतो यथार्थ चिर्न यस्तो अभियान चलाइएको बताइन् । ‘विवाहमा शुभकामना दिनु भनेको उनीहरूलाई आउँदा दिनमा कुनै अप्ठेरो आइनलागोस् भनेर कामना गर्नु हो । तर, शुभकामना दिएर वा लिएर मात्र अप्ठेरोबाट जोगिन सकिँदैन । आपतबाट जोगिने हो भने सतर्कता त अपनाउनैपर्छ । हो, त्यही सतर्कता अपनाउन नवदम्पतीलाई शुभकामना कार्डले निर्देश गर्छ’, उनले भनिन् । 

कार्यक्रमकी फोकल पर्सन गीता लुइँटेलले यस वर्ष भएका दर्जनाैँ विवाहमा गएर यस्ताे शुभकामना कार्ड वितरण गरिएकाे र विवाहित जाेडीले याे उपयोगी भएको प्रतिक्रिया दिएको दाबी गरिन् । कसैकाे विवाहमा जनप्रतिनिधि वा कर्मचारीले कार्ड पुर्‍याउन भुलेकाे वा नभ्याएकाे अवस्थामा भाेलि वा पर्सिपल्ट घरैमा लगिदिने गरेकाे उनकाे भनाइ छ । 

यो कार्डको बाहिर शुभकामना लेखिएको छ भने भित्री पानामा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारीहरू छन् । विवाह दर्ता कहाँ, कसरी गर्नेदेखि यौन सम्पर्क गर्दा प्रयोग गर्नुपर्ने साधन, त्यसको महत्त्व, परिवार नियोजनसम्बन्धी टिप्सहरू शुभकामना कार्डमा पढ्न पाइन्छ । सन्तान जन्माउने उपयुक्त समयको छनोट, गर्भ बसेको थाहा पाउने विधि, सन्तान जन्माउनुअघि र पछि अपनाउनुपर्ने सावधानीबारे जानकारी कार्डमा समाविष्ट छन् ।
नगरप्रमुख नेपाल मूलतः मातृ मृत्युदर, शिशु मृत्युदर घटाउने तथा शारीरिक र मानसिक रूपमा स्वस्थ बच्चा जन्माउने उद्देश्यले ‘नवदम्पतीलाई शुभकामना कार्यक्रम’ चलाइएको बताउँछन् । भन्छन्, ‘महालक्ष्मी नगरपालिकामा आगामी दिनमा कुनै पनि बच्चा अपाङ्गतासहित नजन्मिऊन् । आमा वा बच्चाको ज्यान जाने आपत् कसैलाई आइनलागोस् भन्ने हेतुले हामीले यो अभियान अघि सारेका हौँ । समृद्धिको महत्त्वपूर्ण आधार भनेको नागरिकको स्वास्थ्य पनि हो भन्नेमा हामी प्रस्ट छौँ ।’ 

उपप्रमुख अधिकारीका अनुसार गाउँतिर प्रजनन् स्वास्थ्यबारे कुरा गर्न अप्ठेराे मान्ने गरिन्छ । कोही धक मान्छन्, कोही अनावश्यक ठान्छन् । ‘यसबारे चेतनामूलक जानकारीहरू जनप्रतिनिधि आफैँ गएर वितरण गर्दा, बुझाउँदा अलि गम्भीरतापूर्वक लेलान्, जनप्रतिनिधि आफैँ आएर दिँदा यसको महत्त्व बढ्ला भनेर नगरपालिकाले यो कार्यक्रम चलाइएको हो’, उनले भनिन् । 

विवाहमा जनप्रतिनिधिले दिएको शुभकामना कार्ड आफूले आधा घण्टामै पढिसकेको भरतले बताए । सुनसरी इटहरीस्थित एक बैंकमा कार्यरत भरतले टेलिफोनमा भने, ‘शुभकामना कार्डमार्फत दिइएका सुझावहरू जीवनोपयोगी लाग्यो । बिहेको पहिलो दिनबाटै काम लाग्ने टिप्सहरू कार्डमा छन् ।’

२०७४ सालकाे चुनावमा यो नगरपालिकामा मेयर, उपमेयर र ६ वडाअध्यक्ष एमालेले जितेको थियो भने २ वटा वडामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार विजयी भएका थिए । 

महालक्ष्मीपछि यो कार्यक्रमलाई छिमेकी पाख्रिबाससहित छथर जोरपाटी गाउँपालिका, धनकुटा नगरपालिकाले पनि अनुकरण गरेको उपमेयर अधिकारीले बताइन् । ‘धनकुटाका सातवटा पालिकामध्ये केहीले सुरु गरिसके । केही स्थानीय तह यो कार्यक्रमलाई अघि बढाउने तयारीमा देखिएका छन्’, उनले भनिन् ।

महालक्ष्मी नगरपालिकाकाे पूर्वतिर पर्ने छथड जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठले नवदम्पतीलाई शुभकामना र सन्देश कार्यक्रम यसै वर्षदेखि सञ्चालित रहेको बताइन् । तर कार्यक्रम महालक्ष्मी नगरपालिकासँगसँगै सुरु गरिएको उनको दाबी छ । 

महालक्ष्मी नगरपालिकाभित्र पर्ने श्री काेशी जनता माध्यमिक विद्यालयका शिक्षक रेवतराज सुवेदीले यस वर्षदेखि नवविवाहित दम्पतीलाई नगरपालिकाले शुभकामना कार्ड दिने गरेको बताए । ‘कतिपय ठाउँमा मेयर, उपमेयर आफैँ पुगेर बेहुलाबेहुलीलाई कार्ड दिने गर्नुहुन्छ । छुटेको अवस्थामा कर्मचारीले पछि घरमा लगिदिने रहेछन्’, उनले भने । 

यसअघि..
कसीमा स्थानीय सरकारः बाटोसँगै खुसी आयो बडिमालिकामा

स्थानीय समाजसेवी दण्ड पाेखरेलले नगरपालिकाभित्र यस वर्ष भएका बिहेमा जनप्रतिनिधिहरूले मण्डपमै पुगेर बेहुलाबेहुलीलाई शुभकामना कार्ड थमाएकाे बताए । नगरपालिकाका पूर्वस्वास्थ्य कर्मचारीसमेत रहेका पोखरेलले भने, ‘कार्यक्रमको डिटेल त मलाई पनि थाहा छैन । तर बिहेमा मेयर, उपमेयर पुगेर कार्ड वितरण गरेको चाहिँ देखेको छु ।’

२०७४ सालमा नगरप्रमुख पदमा चुनाव लडेका कांग्रेसका अग्निप्रसाद पौडेलले यो कार्यक्रमबारे आफूलाई जानकारी नरहेको बताए । ‘म अस्वस्थ भएर उपचारका लागि काठमाडौंमा छु । यस्तो कार्यक्रमबारे मलाई थाहै पो भएन त’, उनले टेलिफोनमा भने । यसबारे जानकार कांग्रेसका कतिपय नेता, कार्यकर्ताचाहिँ कार्यक्रम राम्रै भए पनि नगरपालिकाले यसलाई चुनावी प्रचारको रूपमा मात्र प्रयोग गरेकाे तर प्रभावकारी बनाउन नसकेको आरोप लगाउँछन् ।

अध्यापक सुवेदी यो कार्यक्रमलाई अझै प्रभावकारी बनाएर अघि बढाउनुपर्नेमा जोड दिन्छन् । भन्छन्, ‘नवदम्पती मात्र होइन, यस्तो जानकारी विवाह गरिसकेका सबैले थाहा पाउन आवश्यक छ । कार्यक्रमलाई अझै बृहत् बनाउन सकियो भने यसका उद्देश्यप्राप्ति गर्न सजिलो हुन्छ ।’  

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रंगिना शाह नवविवाहित दम्पती प्रजनन् स्वास्थ्यप्रति बेलैमा सचेत हुँदा सम्भावित थुप्रै दुर्घटनाबाट जोगिन सक्ने बताउँछिन् । महालक्ष्मी नगरपालिकामा मात्र नभएर यस्तो अभियान देशैभरि चलाउनुपर्नेमा उनको जोड छ । अभियान प्रभावकारी भए अपाङ्गतासहित बच्चा जन्मिने सम्भावना कम हुनुका साथै मातृशिशु मृत्युदर घटाउन मद्दत पुग्ने डा. शाह बताउँछिन् । 

उनका अनुसार विकसित देशमा गर्भ राख्नुअघि महिलाहरू आफ्नो शरीरको अवस्था परीक्षण गराउँछन् । चिकित्सकीय परामर्शपछि मात्र बच्चा जन्माइन्छ । ‘नेपालमा प्राय महिलाको शरीर बच्चा जन्माउन अनुकूल अवस्थामा छ कि छैन भन्ने कुराको ख्याल गरिँदैन । बच्चा जन्माउनुभन्दा तीन महिनाअघि एउटा साधारण चक्की खानुपर्ने कुरामा समेत ध्यान दिइको पाइँदैन । यस्तोमा महालक्ष्मी नगरपालिकाले सुरु गरेको कार्यक्रम अनुकरणीय लाग्यो । यसलाई देशव्यापी बनाउँदा राम्रो हुन्छ ।’shilapatra बाट

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *