NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

म्यानपावर कार्यालयमा पसेर युट्युबर टोलीद्वारा तोडफोड, सञ्चालक गुरुङ भन्छन्– चरित्र हत्या गरियो

1 Mins read

जेठ १५ गते महाराजगञ्जस्थित नासा ह्युमन रिर्साेस प्रालिभित्र युट्युबरसहितको एउटा समूह पस्यो । क्यामेरा तेर्स्याएर ‘हामी मिडिया’ भन्दै उनीहरू बलजफ्ती सञ्चालक युवराज गुरुङको कार्यकक्षमा छिरे । आफूले वैदेशिक रोजगारीमा पठाएका केही युवाले काम गर्न नसकेपछि आफ्नै खर्चमा स्वदेश फर्काएका गुरुङलाई कुटौंलाझैं गरी युट्युबरले प्रश्न गर्न थाले । उनीहरूका साथमा आफूलाई सामाजिक अभियन्ता बताउने केही व्यक्ति पनि गएका थिए । उनीहरू पाखुरा सुर्केर अगाडि उभिएका थिए ।

सञ्चालक गुरुङले जवाफ दिए, ‘मैले विदेश पठाएका युवा साथीहरूको उद्धार गरेको छु । यो कुरा मैले बोल्नुपर्दैन, कागजले बोल्छ । तपाईंहरू चाहनुहुन्छ भने कागज हेर्न सक्नुहुन्छ ।’

तर आफूलाई सामाजिक अभियन्ता बताउने केही युवाले ‘तिम्रो कागज तिमी नै राख’ भन्दै तोडफोड गर्न थालेको गुरुङ बताउँछन् । भीडका अगाडि निरीह बनेका गुरुङलाई साथ दिने त्यहाँ कोही थिएन । आफूले ऐनविपरीत कुनै काम नगरेको र गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउँदासमेत युट्युबरको टोली नरोकिएको उनले बताए । ‘मलाई तथानाम गाली गरे । कार्यकक्षमा तोडफोड मच्चाए’, गुरुङले भने, ‘भीड झन् अराजक बन्दै गएपछि म आफैंले प्रहरी कार्यालयमा गएर छलफल गरौँ भनेँ ।’

त्यसपछि दुवै पक्ष महाराजगञ्जस्थित प्रहरी कार्यालय गए । त्यहाँ सामान्य छलफलपछि युट्युबरको टोली फर्कियो । तर तीन दिनपछि क्राइम टिभी नामक युट्युब च्यानलबाट घटना भएको दिनको फुटेजहरू सम्पादन गरी एउटा भिडियो अपलोड गरियो, जसमा म्यानपावर सञ्चालक गुरुङको हुर्मत लिइएको छ । उनले दिएका केही जवाफ भिडियोमा समावेश गरिएको छैन भने प्रहरी कार्यालय पनि युट्युबरको टोलीले नै पु¥याएको जस्तो गरी देखाइएको छ । ‘जबकि उनीहरूले तोडफोड गर्न थालेपछि थप क्षति नहोस् भनेर म आफैंले प्रहरी कार्यालय जान भनेको थिएँ’, गुरुङले भने, ‘तर भिडियोमा मलाई पुलिसले समातेर लगेकोजस्तो देखाइएको छ, जुन सरासर झुटो हो ।’

आफ्नो चरित्र हत्या हुनेगरी भिडियो प्रशारण गरेपछि सञ्चालक गुरुङले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा युट्युबर कुशल खत्रीसहितको टोलीविरुद्ध उजुरी दिएका छन् । गुरुङले समाचार सामग्रीको नाममा तथ्यहीन, निराधार सूचना राखेर आफ्नो चरित्र हत्या गरेको भन्दै प्रेस काउन्सिल नेपालमा समेत उजुरी हालेका छन् । उनले सूचना विभाग र पत्रकार महासंघलाई समेत यसबारे जानकारी गराएको बताए । ‘मैले कतै, कसैलाई गलत गरेको प्रमाणित हुन्छ भने म सजाय भोग्न तयार छु’, गुरुङले भने, ‘तर कसैलाई मसँग चित्त बुझेन भन्दैमा मेरो चरित्रहत्या गर्ने छुट हुनु हुँदैन ।’

प्रहरी वृत्त महाराजगञ्जका अनुसार जेठ १५ गते दिउँसो १ बजे मा ‘क्राइम टिभी युट्युब च्यालन’ का व्यक्तिहरूले म्यानपावर कार्यालयभित्र गएर तोडफोड गरेको हो । यसरी तोडफोड गर्नेहरूमा युट्युबरसँगै एजेन्टसमेत रहेका ‘सामाजिक अभियन्ता’ पनि थिए ।

प्रहरीमा परेको उजुरीमा इलामका ३१ वर्षीय सुरेन योङहाङ लिम्बू, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ, सुर्खेत दशरथपुरका रत्नबहादुर अधिकारी र क्राइम टिभी नामको च्यानल चलाउने कास्की पोखरा लामाचौरका कुशल खत्रीलगायत छन् । उनीहरू गुण्डाशैलीमा कार्यकक्षमा घुसेर तोडफोड तथा दुर्व्यवहार गरेको आरोप गुरुङको छ ।

‘वैयक्तिक तथा संस्थागत गोपनीयताको समेत ख्याल नगरी जबरजस्ती बल प्रयोग गरी सुरक्षा गार्ड समेतलाई लत्याई भित्र प्रवेश गरी म जाहेरवाला र संस्थाको कर्मचारीलाई गालीगलौज गरी हातपात र लछारपछार गर्दै टेबल कुर्सी तोडफोड गरेको क्षति पु¥याई डर धाकधम्की दिई मानसिक यातना दिएकाले मुलुकी अपराध संहिता २९७४ को दफा १सय १८ को उपदफा २ बमोबोजिम हदैसम्मको कारबाही गरी पाऊँ’, उजुरीमा लेखिएको छ ।

कारण के थियो ?

नासा ह्युमन रिर्साेसबाट केही समयअघि पटक–पटक गरी ४९ जना वैदेशिक रोजगारीका लागि साउदी अरब गएक थिए । तर तीमध्ये २१ जनाले त्यहाँ काम नगर्ने भन्दै बारम्बार फोन गरेपछि म्यानपावरले आफ्नै खर्चमा उनीहरूलाई फर्काएको गुरुङ बताउँछन् । उनका अनुसार रमाजानका बेला कम्पनीलाई प्रतिव्यक्ति ६ हजार ५ सय रियल क्षतिपूर्ति र ३७ हजार टिकट तिरेर म्यानपावरले पहिलो चरणमा ८ जनालाई फर्कायो । दोस्रो चरणमा साउदीको कम्पनीलाई ७ हजार रियल क्षतिपूर्ति र २२ हजार रुपैयाँ प्रतिव्यक्ति टिकट मूल्य तिरेर फर्काइयो । ‘फर्काउनुअघि उनीहरूका गार्जेनसित हाम्रो सहमति भएको थियो’, गुरुङले भने, ‘आफ्नै कारण फर्केकाले म्यानपावरले नेपाल ल्याइसकेपछि अन्य कुनै जिम्मेवारी नलिने, यस विषयमा म्यानपावरविरुद्ध उजुरबाजुर गरेर दुःख नदिने सहमति भएको थियो ।’ वैदेशिक रोजगार विभागमा भएको यही सहमतिअनुसार चुनावअगाडि नै उनीहरूलाई फर्काइएको थियो । एक जना बराबर दुईदेखि अढाई लाखसम्म खर्च गरेको गुरुङले बताए ।

तर फर्केकामध्ये एकजनाले एक महिनापछि केही युवा भड्काएर युट्युबरसहित आफ्नो कार्यालयमा लिएर आएको गुरुङको आरोप छ । ‘लिगल्ली म सही छु । मैले कुनै कसुर गरेको छैन । जानुअघि सबै कुरा भनिएकै थियो । तर आफ्नै कारणले फर्केका केही भाइहरूले ममाथि इगो साँधे’, गुरुङले भने ।

गुरुङले दिएको उजुरीमा छानबिन भइरहेको प्रेस काउन्सिल नेपालले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले समाचारको विषय काउन्सिलले हेर्ने र आफूले तोडफोडका विषयमा बुझ्ने काम गरिरहेको बताएको छ । गुरुङले आफ्नो कार्यकक्षभित्र तोडफोड गरेको सिसिटिभी फुटेज आफूसित सुरक्षित रहेको बताए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *