म ठूलो भएको हु कि, चाडबाडहरु सानो हुन थाले?
“दशै” कति उत्साहले भरिएको छ है यो शब्द, जताततै रौनकता, खुसियाली,हर्षोल्लास अनि बर्षौ नभेटिएका आत्मिय मान्छेहरुसंङको भेटघाट। लिङ्गे पिङ,चंगा,लंगुरबुर्जा, को खेल, काठको होस वा माटोको घर भएपनी कमेरो माटो, रातो माटो तथा चुनाले घर लिपपोत गर्दा आउने त्यो माटोको सुवाषको बास्ना पनि बिछट्टै मनपर्थ्यो। गाउँभरिका मान्छेहरु मुलघरमा भेला भएर हाम्रा हजुरबुबाका साथमा भएको जुवा(कौडा) खेल्दै छाती पिटेर मारा भनेको त्यो अजङ्ग आवाज अनि हामिले जितौरी मागेको त्यो क्षण अनि पैसा लिएर दुगुरेको बेला पनि रमाइलो थियो। कपडा किनेपछी कस्ले कस्तो किन्यो भनेर गाउँको वल्लो घर र पल्लो घरका साथिहरसङ एकअर्काको घर गैइकन कपडा हेरिन्थ्यो। कस्को घरको खसी ठूलो , कस्को धेरै पैसा हुने भन्ने होडबाजि चलिरहन्थ्यो। हजुरबुबा हजुरआमाले टीका लगाइदिदा भनेको मंत्रसङै थापेको टीका र जमरा अनि त्यो मन्त्र कस्ले भन्न सक्छ भन्ने प्रतिस्पर्धा बिछट्टै मजेदार हुन्थ्यो। तेतिबेलाको काल, समय र माहोल नै छुट्टै थियो। ५/६ बर्षको उमेरमा पनि पाहाडि क्षेत्र २ दिनको बाटो हिडेर मामाघर जानपाउदा मन फुर्किएर फड्को कति मार्थ्यो । तिहार झन उत्तिकै रमाइलो थियो , ८/१० जनाको हुलमा देउसी र भैलो खेल्न मध्यरात सम्मपनि थाकिदैन थियो, भट्टयाउनेले भट्याइरहन्छ अनि पछाडी देउसिरे भनेर साथ नदिदा येस्ले देउसिरे भनेनन् हैन तेस्ले पो भनेनन् भनेर ती एक्छिन झगडा गरेर मनमुटाव गरेको त कहिलेपनि बिर्सन सकिन्न, भट्याउदा भट्याउदा गरेपनी घरका मान्छे नउठेपछि रिसले त्याहाबाट हिडेको, थोरै पैसा दिनेकोमा अर्को साल नगएको त अहिले हासो लाग्छ। खेलिसकेर जम्मा भको पैसा आधा-आधा बाड्ने अनि तेस्मा भट्याउनेलाइ अलि बेसि रकम छुट्याउने चलन अनि बाढेको पैसाले कुनै साल पिकनिक जाने, मिलेर पार्टी खाने भन्दै बजार गएर म.म खाएको।देउसी खेल्ने क्रममा कहि कतै गित बजेको सुनियो भने तेस्तो अधेरी रातमा लड्दै भएपनी दौडिएर गित बजेको दिशातिर नाच हेर्न पुग्नैपर्थ्यो।
अहिले दशै तेस्तो छैन समय र प्रबिधीसङ्गै दशैले आफ्नो अवस्था फेरेको छ । मान्छेका आचरण पनि फेरिएका छन। मानव जातिका परिवेश फेरिएका छन। गाउँमा बाबियोको लठ्ठारो झुन्डिएको देखिन छाडेका छन,गाउँका घर-घर गएर पैसा उठाएर बाबियो ल्याइ पिङ हाल्ने काम झन्झटिलो भएको छ। लंङ्गुर बुर्जाका खालहरु हराइसकेका छन,हजुरबुबा बितेर जानुभो हजुरबुबाले संगालेर राख्नु भएका ती कौडाहरु कुन कुनामा छन थाहा छैन ,तास र जुवाको जितौरिहरु हजुरबुवा सङ्गै साथ लागेर गए। आजकाल कस्ले कस्तो लुगा किन्यो भनेर साथिकोमा हेर्न जान पर्दैन सामाजिक संजालले देखाइदिन्छ । शहरीकरण हुने क्रम भएर सबि घर पक्कि बन्दै छन। घरहरु कमेरो ,चुना र राटोमाटोले पोतिन छाडेका छन। बसाइँसराइसङ्गै मामाघर शहरतिर सरेको छ। पहाडको जस्तो हर्षौलास शहरमा खासै पाइदैन २ दिन लगाएर मामाघर पुग्दा छुट्टै आभास थियो अहिले १ घण्टामा पुग्यो अनि फर्कियो । पहिले बर्षैमा पुग्दा एक बर्ष भरिका गफ हुन्थे अहिले पुग्नसाथ वाइ-फाइको पास्वर्ड माग्यो सबौ आफ्नै तालमा। मोबाईलको प्रयोगले अहिले मान्छेहरु एकअर्कासङ प्रत्यक्ष कुराकानि गर्न मन पराउदैनन मान्छेमा सामाजिक हुने बानी हट्दै गएको छ। चाडबाडमा ठूलो जमघट कमै मात्रामा हुन थालेका छन। तिहारमा देउसी भैलो खेल्नेको हुलहरु पनि खासै देखिदैनन, कानमा गितको आवाज सुन्नसाथ चिच्याएर नाच हेर्न जाउ भन्ने साथिका हुल पनि हराए र ती नाच देखाउने क्लब तथा समुहहरु पनि शून्य मात्रामा पुगिसके भन्दा फरक नपर्ला । देउसी र भैलोको लयहरु पनि ठुला-ठुला साउन्ड सिस्टमले ओजेलमा पारिदिएका छन।
मैले बाल्यकाला मानेको चाडपर्वका तौरतरिका त एकादेशको कथा भैसकेछन निकट भविष्यमा चाड्पर्व नै एकादेशको कथा नबनोस।
बडा दसैको शुभकामना 🙏🙏


