बर्षायम शुरु भए सङै पुर्वी पहाडी भेगमा परेको अविरल बर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाब बढेको छ।
पानीको बहाब बढे सङै सप्तकोशी नदिले धार परिवर्तन गरि पश्चिम् तर्फ तिर्ब कटान गरि रहेको छ।
सप्तकोशी नदीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ पश्चिमतर्फ कटान थालेको छ । अघिल्लो वर्ष कटान गरेको लाहुरे खोँचभन्दा केही मास्तिरबाट पश्चिमतर्फ तीव्ररूपमा कटान गर्न थालेको वडाध्यक्ष जयकुमार राईले बताए ।
नदीमा अत्यधिक बहावका कारण रोकथामका कुनै उपाय लाउन नसकिएको उनले सुनाए ।
राईले भने, ‘अहिलेसम्म सप्तकोशीले २५ मिटरभन्दा बढी कटान गरिसकेको छ । नदीमा पानीको सतह अत्यधिक रहेकाले कटान जारी छ । कटान गरेको स्थानबाट नदी गाउँ पसे बेलका नगरपालिकाका ३ वटा जोखिममा पर्नेछ । नदीले धार परिवर्तन गरे वडा नम्बर ८, ९ वडाको सिमालटार, धौरी, वडा नम्बर ३ को दुर्गा बन्दी,भाटे पुल मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने छन् ।’
अघिल्लो वर्ष पनि सप्तकोशी नदीले बेलकाको वडा नम्बर ८ स्थित डुम्री बोटेमा कटान गरी पश्चिमतर्फ धार परिवर्तन गरेको थियो । यस वर्ष भने अघिल्लो वर्ष कटान गरेको भन्दा अझै माथिबाट कटान गरेको राईले बताए ।
बेलकाका मेयर अशोक कार्कीले सप्तकोशी नदीको कटान रोक्नका लागि तारजाली लगाउने निर्णय भएको बताए । उनले नगरपालिकामा रहेको विपद् व्यवस्थापन समितिको बैठक बसी रोकथाममा जुट्ने निर्णय गरेको बताए । सप्तकोशी नदीले अघिल्लो वर्षबाट पश्चिमतर्फ कटान गरिरहेको छ ।
कटान गरिरहेको भए पनि तीनै तहको सरकारले बेलैमा नदी कटानको रोकथाममा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । हिउँदका बेला रोकथामको काम नगरेको र बर्खा लागेपछि रोकथाममा लागेको भन्दै आक्रोशित भएका हुन् ।


