डेमो’ देखाउँदै गर्दा सप्तकोशीमा सशस्त्रको डुंगा पल्टिएपछि मुख्यमन्त्रीले केदार कार्कीले के भने?
भरत घिमिरे / सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रम चलिरहेको बेला मोटरबोट दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बलको मोटरबोट दुर्घटना भई सप्तकोशीमा खसेका चार पत्रकारसहित ११ जनाको एपीएफको गोताखोर टोलीले उद्धार गरेको छ । सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको बेला कार्यक्रममा सहभागी पत्रकारसहित आगन्तुकहरू चढेको मोटरबोट ओभरलोड भई दुर्घटना भएको हो । दुर्घटनामा कान्तिपुरकर्मी विराटनगरका महाप्रसाद खतिवडा, देवनारायण शाह, क्यामेरा पर्सन शम्भू पोखरेलसहित ११ जना घाइते भएका छन् ।
यस्तै विराटनगरका पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर, कार्यक्रमका आगन्तुकहरु सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका छन् । घाइते पत्रकार अधिकारी र खतिवडाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि प्रतिष्ठान भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । अरुको अवस्था सामान्य छ ।
सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले दुई महिनाअघि सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा उक्त कृत्रिम अभ्यास गराइएको थियो । कार्यक्रमका लागि सशस्त्र प्रहरीले सुनसरी, मोरङ र उदयपुरका पत्रकारसहित जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरेको थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई पोखराको फेवातालसहित नेपालका विभिन्न ठूला नदीहरुमा प्रशिक्षण दिइएको थियो ।
शुक्रबार उदयपुरको बेलका नगरपालिकामा पर्ने सप्तकोशी किनारमा सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीले गोताखोर तालिमको समापन गर्ने कार्यक्रम थियो। कार्यक्रम सुरु भएपछि बाढीमा बगाएको दृश्य देखाउन सुरु गरियो। कार्यक्रमका प्रमुख अतिथिसहित अन्य आमन्त्रित ‘डेमो’ हेर्न केन्द्रित भए।
त्यसैबेला नदीमा डुंगा पल्टिएको आवाजसहित कोलाहल भयो। आमन्त्रित मानिसले आवाज र दृश्य पनि डेमो नै भन्ने बुझे। तर उक्त दृश्य डेमो नभएर सत्य साबित भयो। सुनसरीतर्फबाट कार्यक्रमस्थल आउँदै गरेका पत्रकारसहित सशस्त्र प्रहरी चढेको डुंगा नदीमा पल्टियो। तर डुंगा पल्टिएको केहीबेरमै सशस्त्रको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ। केही घाइतेलाई भने सशस्त्रले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरी १ नं. बराह बाहिनीले २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिममा सहभागी गराएको थियो। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिमको शुक्रबार उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी किनारमा डेमो प्रस्तुत गर्दै गोताखोर तालिमको समापन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद्को बेला सारथी भएर उभिने तर्क गरे। उनले भने, ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ, सही सदुपयोग गर्दा नदी जीवन हो। दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ।’
विपका बेला केहीले समाजसेवीका नाममा पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाँड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। बाढीपहिरोलगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सहकार्य गरी काम गर्ने उनले बताए ।
‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियोभने पूर्व तयारी गर्न सकिन्छ,’ उनले भने।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलका अनुसार गत भदौदेखि तालिम सञ्चालन भएको थियो। ३६ दिन भएको तालिममा सहभागीले अब नदीको ७० फिट गहिराइसम्म पुगेर उद्धार गर्न सक्नेछन्। सप्तकोशीको विभिन्न भाग र पोखराको फेवातालमा तालिम सञ्चालन भएको थियो।
देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उद्देश्यले जनशक्ति थप गर्नका लागि नेपालमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल १ नं, बराह बाहिनी पकलीले गोताखोर तालिमको अभ्यास गरेको हो। गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ। गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १८० फिट गहिराइसम्म लगातार एक घण्टा खोज तथा उद्धार गर्न सक्ने उनले बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोशीलाई अवसरका रूपमा लिनुपर्ने बताए। ‘यो बगिरहेको पानी नभएर पैसा हो, यो पैसालाई हामीले प्रयोग गर्न सक्नुपर्छ,’ उनले धरानमा खानेपानीको अभाव रहेको संकेत गर्दै भने, ‘यहाँ पानी बगिरहेको छ, ‘माथितिर खडेरी भइरहेको छ। खडेरीलाई हरियाली बनाउन पनि सप्तकोसीको पानी त्यतातिर पुग्नुपर्छ।’कार्यक्रममा बेलकामा मेयर अशोक कार्किले पनि सप्तकोसीले गर्दा हजारौं हेक्टर जग्गा र बसोबास गरिरहेका जनतालाइ असर पुर्याएको हुदा कोसिलाइ व्यवस्थापकिय पक्षबाट बाध बान्न आग्रह गरे। झापा दमकाका मेयर राम थापा सम्मको उपस्थित रहेको हो।
कार्यक्रममा गोताखोर तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेश सरकारका सचिव डा. दीपक काफ्ले लगायतले विपद्को समयमा सबै निकायसँग सहकार्य गर्ने बताए।