रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ ।
बेलकाका २५ युवा सकृयतापूर्वक मोबाइल पत्रकारिता तालिममा सहभागी भएका छन् । सहभागीले पत्रकारिताबारे आधारभूत ज्ञान र मोबाइल एप्लिकेसनबारे जानकारी लिएका छन् ।
बेलका-८ स्थित बेलका बिच रिसोर्टमा औपचारिक समापन गरिएको प्रशिक्षणमा नगरप्रमुख अशोक कार्कीले प्रशिक्षार्थीलाई शुभकामना दिनुभयो । उहाँले नगरका विकास, समृद्धि र आवश्यकताबारे रिपोर्टिङ गर्न तालिम प्राप्त युवाहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षणमा उत्कृष्ट मल्टिमिडिया सामग्री निर्माण गर्ने सहभागीलाई नगरसभामा सम्मान गर्नेसमेत नगर प्रमुख कार्कीले बताउनु भयो । उहाँले नगरका विविध विषयमा सिर्जनात्मक सुझाव राख्न सहभागीलाई अनुरोध गर्नुभयो ।
पर्यटन व्यवसायी तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रमण भट्टराईले सहभागीलाई शुभकामना दिंदै बेलकामा सडक पूर्वाधार, होटल व्यवसायको प्रवर्धन गर्न, होमस्टे पार्क, बेलकामा सम्भावित क्षेत्रमा हिलस्टेशन निर्माण गर्ने योजना ल्याउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
चम्पाकोट, बबला मैनामैनी, सीतारानी भीरलगायतका सम्भावित पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि काम गर्न तालिम प्राप्त सहभागीलाई अनुरोध गर्नुभयो ।
सहभागीलाई नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सहजीकरण गर्नुभएको थियो । उहाँले प्रशिक्षणमा पत्रकारिताबारे आधारभूत ज्ञान, स्रोतहरुको पहिचान, विषय पहिचान, समाचार लेखनबारे जानकारी गराउनुभएको थियो । समापनमा बोल्दै उहाँले आचारसंहितामा रहेर मोबाइल पत्रकारिता गर्न आह्वान गर्नुभयो ।
प्रशिक्षक नवराज विष्टले मल्टिमिडिया, मोबाइल एप्लिकेशन, प्रयोग र सम्पादन, छायाङ्कन, एडिटिङ, मिक्सिङ र फिल्ड रिपोर्टिङबारे सहजीकरण गर्नु भएको थियो ।
बेलका नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मल्टिमिडिया तालिमको समापन कार्यक्रमको सभाध्यक्षता गर्नुभएका बेलका मिडिया प्रालिका सञ्चालक विजयकुमार राउतले सहभागी प्रशिक्षार्थीलाई मिडियाले सधैं सहजीकरण गर्ने र थप एडभान्स तालिमको आवश्यक परे नगरपालिका र पत्रकार महासङ्घको समन्वयमा प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।
सहभागीका तर्फबाट बोल्दै आयुषा मग्राती र विकास तामाङले प्रशिक्षणबाट सीप आर्जन गरेको र मल्टिमिडियामार्फत् समाजलाई सुसूचित गराउने विषय महत्वपूर्ण भएको धारणा राखे ।
बेलका नगर प्रमुख कार्कीको ५५औं जन्मोत्सवसमेत उपस्थित सहभागी र अतिथिले मनाएका थिए ।


