मोरङ/ मोटरसाईकल चोरी गरेर बिक्रि गर्ने एक समूहलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
को ३६ प १०४० नम्बरको मोटरसाईकल गत भदौ २२ गते साँझ बेलबारी नगरपालिका ८ बाट हराएको थियो । चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई आईतबार इलाका प्रहरी कार्यालय बेलबारीले सार्वजनिक गरेको छ ।
चोरीमा संलग्न पुजन श्रेष्ठ, बिशेष भुजेल, राहुल साह, उत्तर राई र गगन ध्वज राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषि राज ढकालले बताए ।
ढकालका अनुसार पुजन श्रेष्ठले चोरी गरी बिशेष भुजेलको सहयोगमा बिराटनगर घर भई सुनसरीको धरान उपमहानगरपालिका ३ का बिश्वकर्मा बर्कसप सञ्चालक २७ बर्षीय राहुल साहलाई कमिसन दिने शर्तमा बेच्न दिएका थिए ।
ईन्जिन नम्बर, चेचिस नम्बर परिवर्तन गरि राहुलले मोटरसाईकलको स्वरुप समेत परिवर्तन गरेर उत्तर राई र गगन ध्वज राईलाई बेच्न दिएको प्रहरीको अनुसन्धान बाट खुलेको छ । उक्त मोटरसाईकल उत्तर राईले कुदाउदै गरेको अवस्थामा मंसिर ३ गते सुन्दरहरैचा नगरपालिका वडा नं २ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेका चारै जना बिरुद्ध चोरी मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले बिभिन्न समयमा हराएका २४ थान मोबाईल समेत फेला पारि प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।


