सुनसरी / २३ मंसिर —- महिला मैत्री कानुनको फाइदा उठाउँदै बलात्कार जस्तो जघन्य अपराधको आरोप लगाउने एक युवतीको प्रयास निरर्थक भएको छ । हिन्दु धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएपछि ती युवती र केही षडयन्त्रकारीहरुको प्रयास असफल भएको हो ।
आज सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग झुटो भएकाले दावी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाई दिएको छ । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाई पाउने ठहर भएको जानकारी दिए ।
सरकारी वकिलले कृतिम कारण देखाउँदै पेशी सार्न दिएको निवेदनको अदालतले मनासिव ठहर नगरी सुनुवाई गरेको थियो । गत पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलासले गिरीसँग तीन लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको थियो ।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए । सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरीलाई बदनाम गर्ने उद्देश्यले युवतीको प्रयोग गरिएको थियो । धर्मगुरु गिरीले अदालतबाट न्याय पाएपछि उनका अनुयायीहरुमा खुशी छाएको छ ।
स्वामी कृष्णदासजीले गत कार्तिक ४ गते चतरास्थित आश्रममैं आफूलाई करणी गरेको भन्दै २९ बर्षिय एक युवतीले एक महिना चार दिनपछि उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
त्यसपछि कार्तिक १९ गते कृष्णदासजी महाराजले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो चरित्रहत्या गरेको भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए ।
पक्राउ पर्नुअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा कृष्णदासजी महाराजले उनले आफूविरुद्धको आरोप निराधार भएको बताएका थिए । एक अन्तरवार्तामा उनले आफूविरुद्ध स्त्री बम प्रहार भएको बताएका थिए ।
पछिल्लो समय बलात्कारको झुटो आरोप लगाएर बदनाम गर्ने गिरोह सल्बलाएको छ । देशभर बलात्कारका घटनामा बढोत्तरी भएको देखिएपनि अधिकांश मुद्दा लेनदेन नमिलेर वा बदनाम गर्ने, दुख दिने उद्देश्यबाट प्ररित रहेको एक अध्ययनले देखाएको छ ।


