बेलका/ २४ मंसिर /उदयपुर जिल्लामा मंसिर२४ गतेबाट स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको छ ।
सामान्य परिवारका बिरामीलाईसमेत उपचारमा पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले राष्ट्रिय बीमा बोर्ड टेकुमार्फत कार्यक्रम अघि सारेको हो । वीमा वोर्डले सोमबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी वीमा कार्यक्रम लागु भएको जानकारी दिएकोछ । यो सगै ६१ जिल्लामा स्वास्थ विमा लागू भएको हो ।
कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका जेष्ठ नागरिक भुवानसिंह श्रेष्ठलाई वीमा परिचयपत्र हस्तान्तरण र गमलाको फुलमा पानी लगाएर उद्घाटन गरिन् । लगत्तै सांसद थापालाई वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर निरौलाले वीमा कार्यक्रममा आवद्द भएको परिचयपत्र दिए ।
उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका वडाध्यक्ष भिमबहादुर पुलामी मगर, धनमाया मगर र कुलप्रसाद भण्डारीलाई बेलका नगर प्रमुख दुर्गाकुमार थापा, चौदण्डिगढी नपा प्रमुख खगेन्द्र राई र त्रियुगा नपा उपप्रमुख देविकुमारी चौधरीले वीमा परिचय पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै सांसद थापाले संबिधानले नै स्वास्थ्य अधिकार सुरक्षित राखेकाले वीमामा जनताको थोरै सहभागितामा धेरै प्रतिफल लिन सकिने बताईन् । उनले अतिबिपन्न परिवारलाई लक्षित गरी सरकारले कार्यक्रम अघि सारेकाले वीमामा आवद्ध भएका कोही पनि नागरिक अव स्वास्थ्य उपचार नपाएर बस्नु पर्ने अवश्था नआउने बताईन् । ठुलो धनराशी खर्च गरेर उपचार गर्न नसक्ने अवश्थाका विरामीलाई यसले ठुलो राहत पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा कार्यकारी निर्देशक निरौलाले केन्द्र र प्रदेश बीमा बोर्डमार्फत जिल्लाका आठ वटै स्थानीय तहमा सोमबारदेखि कार्यक्रम सुरु भएको जानकारी दिए । कार्यक्रम सुरु हुनपुर्व जिल्लाका ७५ वटै वडामा एक जना दर्ता सहयोगी छनौट गरी यसबारे उनीहरुलाई अभिमुखिकरण गराइएको बताए ।
उनले भने, ‘सहयोगी छनौटदेखि अभिमुखिकरणसमेत भैसकेको छ, अव दिक्षित भएका व्यक्ति घरघरै पुगेर अभियानको जानकारी दिने र इच्छुकलाई बीमामा आवद्ध गराउने काम गर्नेछन् । स्वास्थ्य बीमामा आबद्ध हुन चाहने परिवारका अधिकतम पाँच जनाका लागि तीन हजार पाँच सय रुपैयाँ तिर्नु पर्ने व्यवस्था छ ।
यसका साथ थप सदस्य भए प्रति व्यक्ति सात सय रुपैँया दस्तुर लाग्नेछ । उपचार सेवा लिने ब्यक्तिले परिचय पत्रका आधारमा तोकिएको अस्पताल वा स्वास्थ्य केन्द्रबाट एक वर्षसम्म एकलाख रुपैयाँ सम्मको उपचार खर्च छुट पाउने छन् ।
त्यसैगरी थप गरिएका सदस्यको हकमा भने अधिकतम दुई लाखसम्म लिन सकिने व्यवस्था रहेको वीमा वोर्डका सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए । स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले उपचारका लागि वोर्डले स्वीकृती दिएका अस्पताम मात्र उपचार गराउनु पर्ने छ । स्वास्थ्य वीमा कार्यक्रम पूर्ण रुपका अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोग भएका ब्यक्ति र ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले भने बीमा बापत लाग्ने कुनै पनि शुल्क तिर्नु नपर्ने उनले बताए ।
वोर्डका निर्देशक टिका चापागाईका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिनेछ । साथै बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफ्नो नगरपालिकाका ७५ प्रतिशत जनतालाई पहिलोचरणमा वीमामा आवद्धता गराउने उद्घोष गरे । ‘नगरभरका सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखिएको छ, उनले भने, ‘बेलका नगरपालिकासँगै सिङ्गो उदयपुर जिल्लामा विपन्न परिबारको संख्या धेरै भएकाकारण कार्यक्रमलाई प्रभावकारीता बनाउन सबै पालिकासँगसमेत समन्वय गरिने छ ।
चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले स्वास्थ्य वीमा लागु हुनु पुर्व गम्भिर प्रकृतिका रोग लागेका विरामीलाई उपचार गराउनका लागि नगरपालिकाले छुट्टै कोषको स्थापना गरेको र आगामी दिनमा यो कार्यक्रमले सहयोग पुग्ने बताए । उनले जनताका सामान्य स्वास्थ्यलाईसमेत वीमाले छोएकाले कार्यक्रम प्रभावकारीताका लागि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले वीमा कार्यक्रम आफैमा राम्रो भएपनि प्रचार प्रसारको अभावमा यसको प्रभावकारितामा प्रश्नचिन्ह खडा भएको बताए ।उनले भने, ‘वीमा सामान्य नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउने उदेश्य रहेपनि, यसको महत्व वारे नागरिकलाई बुझाउन नसक्दा र प्रचार प्रसार गर्ने निकायसँग समन्वय नहुँदा प्रभावकारितामा समस्या देखिएको हो ।
नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुरयाउने उद्देश्य अनुरुप राष्ट्रिय बीमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२/७३ बाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।


