रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ ।
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख कार्कीले बुद्धको शिक्षालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए ।
दीप प्रज्वलन, पूष्प अर्पण, तथा सांस्कृतिक प्रस्तुतिसहितको अनावरण कार्यक्रममा अतिथिहरूले बुद्ध मूर्तिको दर्शन गरी विश्व शान्तिको कामना गरेको बेलकाका प्रेस संयोजक ध्रुव कोइरालाले जानकारी दिए ।
वडा नं ३ को आर्थिक सहयोगमा निर्माण गरिएको यो मूर्ति अबदेखि बेलका–३ को सांस्कृतिक र धार्मिक पहिचानको प्रतीकका रूपमा स्थापित भएको निर्माण उपभोक्ता समिति अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।
वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्य, नगर कार्यपालिका सदस्य विष्णु परियार, वडा सदस्यहरू फाल्गुन कार्की, किशोर चौधरीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले मूर्ति स्थापनाको प्रसंसा गर्दै यसले सामाजिक एकता, धार्मिक चेतना तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।


