सुमन सागर खतिवडा, बेलका ।
बेलका नगरपालिकाले संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्ट ३५ दिन भित्रै शुरु हुने भएको छ । बेलका नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टको बिहिबार पि.डि इन्जिनियरिङ्ग प्रा.लि. र बेलका नगरपालिका बिच ३५ दिनभित्र जडान गरी उत्पादन शुरु गर्ने गरी सम्झौता सम्पन्न भएसँगै ३५ दिन भित्रै अक्सिजन प्लान्ट संचालनमा आउने भएको हो ।
‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’भन्ने नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि पि.डि इन्जिनियरिङ प्रा.लि.लाई दिने गरि सम्झौता सम्पन्न भएको छ ।
पि.डि इन्जिनियरिङ प्रा.लि
को तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर धर्मराज पौडेल र बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अक्सिजन प्लान्ट जडानका लागि पहिलो किस्ताको ५८ लाख ५० हजार नगद पि.डि इन्जिनियरिङ प्रा लि लाई सम्झौता अनुसार बेलका नगरपालिकाले भुक्तानि दिएको छ।
दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट जडान भएर उत्पादन सुरु भएसँगै बेलका नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने जनप्रतिनिधिहरु बताउछन् ।
पछिल्लो समय अक्सिजनको चरम अभाव भए सँगै कोरोना संक्रमितहरुले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गर्न लागिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिए ।
पि.डि इन्जिनियरिङ प्रा.लिका मेनेजिङ्ग डाइरेक्टर ई. धर्मराज पौडेलले अक्सिजनको अभाव हुन नदिनको लागि आफूहरुले देशभरि नै छिटो भन्दा छिटो सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि कामको यही गतिलाई निरन्तरता दिने स्पष्ट पारे । डाइरेक्टर पौडेलले सम्झौता मिति भन्दा अगाबै प्लान्टको निर्माण कार्य सकेर नगरपालिकालाई जिम्मा लगाउने समेत बताए ।
अक्सिजन प्लान्ट स्थापनाको लागि उदयपुरका ८ वटा स्थानिय तह छिमेकी पालिका र विभिन्न ब्याक्तिको आर्थिक सहयोगमा सन्चालनमा आउन लागेको हो।


