– स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिका मा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । नेपाली कांग्रेस बेलकाको कार्यलयमा शुक्रबार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।
बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी बेलकाको अध्यक्ष नबराज भट्टराईले बताए । बेलकामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ ।
बेलकामा ९ वडा छन् । तर गठबन्धन दलबीचमा प्रमुख र उपप्रमुख साथै ‘कुन वार्ड कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ । छिटै वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ ।
‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ । गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ अध्यक्ष भट्टराईले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ ।’
गठबन्धन दलको बैठकले आगामी दिनमा बेलकाको सबै वडामा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
यसैबिच उदयपुर जिल्लामा समेत गठबन्धन गरेर जाने निर्णय भएको हो ।


