प्रहरी सहायक हवल्दार बुढाथोकी बने एक नम्बर प्रदेशको सर्बोत्कृष्ट प्रहरी
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार बुढाथोकी भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका बुढाथोकीले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै मिति गत भदौ १७ गते जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं. ७ गोवाटार स्थित सुनसान जंगल भित्र पर्ने वाबिङ खोलामा स्थानीय राज कुमार बस्नेत, निजकी श्रीमति सरिता बस्नेत र छोरा सुजन बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी निर्ममता पूर्वक कर्तव्य गरी मारेर घटनास्थलबाट भागी फरार रहेका प्रतिवादी स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई तत्कालै खोजतलास गर्ने क्रममा बेलका नगरपालिका-६ बरबोटेबाट घटनामा प्रयोग गरेको धारिलो हतियार खुकुरी समेत हातमा बोकी जंगलको बाटो हुँदै लुकिछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए ।
यसरी हत्या जस्तो जघन्य अपराध अनुसन्धानमा प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी घुस्की सुनसरी दरबन्दी भई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार बुढाथोकीलाई सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको जनाएको छ ।


