कोदो,नेपालको पहाडी क्षेत्रमा मकैपछीको दोस्रो मुख्य बालीका रुपमा रहेको एक प्राचीन तथा रैथाने खाद्यान्न बाली हो।यसको खेती मलिलो कम भएको ,सुख्खा जमिनमा ,कम लागतमा पनि सहज रुपमा गर्न सकिन्छ । एक समय पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको मुख्य खाद्य पदार्थको रुपमा रहेको कोदोको उत्पादन र उपयोगप्रती बर्तमान समयमा किसानहरुको उत्सुकता हराउँदै गएको छ भने बर्सेनि अन्य मुलुकहरुबाट यसको आयात बढ्दो छ। आर्थिक बर्ष २०७७/७८ मा ७ करोड २२ लाख रुपैयाँको कोदो आयात भएको एक सरकारी तथ्यांकले देखाएको छ।
कोदो ,नेपाली भान्सा र ग्रामीण जीवनशैलीबिच एउटा् आफ्नै इतिहास छ,कथा छ। यति मात्रै नभएर पोषण तत्वका दृष्टिकोणले हेर्दा विभिन्न अध्ययन तथा अनुसन्धानले कोदोमा प्रशस्त रुपमा क्याल्सियम ,कार्बोहाइड्रेट ,प्रोटिन ,चिल्लो पदार्थ ,थियमिन तथा रेसादार वस्तु पाइने र भबिस्यको स्मार्ट खाना समेत मानिएको कोदो मा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८ गुणा बढी क्याल्सियम पाइने बताएका छन् ।
कोदोको अनेकौं फाइदा छन् । कोदोको प्रयोगबाट मुटु रोगको जोखिम कम हुने,पाचन प्रणालीमा सुधार आउने,मधुमेहबाट जोगिने,क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम कम गर्ने,शरीरलाई आवश्यक पोशक तत्व पुर्ती हुने देखिन्छ ।यसैगरी ,कोदोको विभिन्न प्रकारका परिकारको स्वादले बिदेशी पर्यटकलाई आतिथ्य झल्काउन सके ग्रामीण पर्यटनको विकासमा टेवा पुग्ने देखिन्छ। पछिल्लो समयमा कोदोको पौष्टिक तत्व र औषधिय गुणप्रती जनचेतना अविवृद्धि हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कोदोको उपयोग र माग बढ्दै गएको छ भने सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष (ईन्टरनेशनल इएर अफ मिलेट्स ,2023)का रुपमा मनाउने घोषणा गरेको छ। नेपालको प्ररिप्रक्ष्यमा हेर्ने हो भने हिजो भन्दा आज आधुनिक, ब्यावसायमुखी र बिकासोन्मुख बन्दै गएको नेपालको कृषि क्षेत्रले कोदो बालीलाई समेट्न सकेको छ त ? बिचार गर्नुपर्ने समय आइसकेको छ।
बिदेशी भुमिमा उत्पादन र उपभोग (जस्तै; ड्रर्यागन फ्रुट) हुने बाली प्रती नेपाली कृषकहरु आकर्षित हुँदै गर्दा सहज र कम लागतमा उत्पादन गर्न सकिने,आफ्नो पहिचान बोकेको रैथाने , जलवायुमैत्री र खाद्य सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण ,कोदो र कोदोजन्य खाद्यान्न बालिलाई उपेक्षा गर्दा मुलुकले आर्थिक तथा खाद्यान्न सङ्कट बेहोर्नु पर्ने अवस्था दिन प्रतिदिन बढ्दै गएको छ।
यसर्थ दिगो र खाद्य सुरक्षामुखी कृषि प्रणालीको विकास गर्न कोदो तथा कोदोजन्य बालीहरुको खेती विस्तार ,उत्पादन वृद्धि ,रैथाने जातको संरक्षण,बजार एवं ब्यापार बिस्तार र प्रबर्द्धन,अनुकुल प्रबिधिको विकास र प्रसारका लागि नितिगत सुधार प्रति राज्य बेलैमा सचेत हुन अपरिहार्य छ।अन्यथा सन् २०२५ सम्मको शून्य भोकमरी अभियान एक अधुरो सपना बनेर सकिनेछ।
एलिशा बस्नेत
उदयपुर बेलका नगरपालिका -९


