उदयपुरमा सवारी दुर्घटनामा परी एकै परिवारका दुईजना घाइते भएका छन् । सदरमुकाम गाईघाटदेखि बेल्टार/ रामपुर तर्फ जाँदै गरेको अटो रिक्सालाई बेल्टारबाट गाईघाट जादै गरेको म्याजिक भ्यानले ठक्कर दिदा उनीहरु घाइते भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार १ ह ८०० नम्बरको अटो रिक्सालाई प्रदेश नम्बर १–०२–००२ च ५२६४ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको थियो । पूर्व–पश्चिम मदनभण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका वडा नम्बर १० खैराझोडा नजिकैको चौतारा टर्निङमा दुर्घटना हुदा बेलका नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय रुद्रबहादुर राई र बेलका वडा नम्बर ७ बस्ने ३२ वर्षका जीवन राईको अवस्था गम्भीर बनेको छ ।
घाइते दुवैलाई तत्काल स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, त्यहाँ पनि उपचार असम्भव देखिएपछि मोरङको बिराटनगरस्थित न्यूरो हस्पीटल रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
स्थानीयका अनुसार दुर्घटनामा परी घाइते हुनेहरु दाजु भाई हुन् । दुर्घटना गराउने म्याजिक चालक त्रियुगा नगरपालिका वडा नम्बर १० का २६ वर्षीय टेकबहादुर सार्की पनि सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त अटो, म्याजिक र चालक सार्कीलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । घटना आज (सोमबार) एक बजेको समय भएको प्रत्यक्षदर्शीको भनाई छ ।


