१४ वर्षीया बालिका दिपिना पाँचकोटीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा मृतकका ठूलोबुबा ५३ वर्षीय प्रदीप र उनकी श्रीमती ४५ वर्षकी गीता दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको चतरा वराहक्षेत्र नगरपालिका–२ स्थित पुनरबासमा बालिकालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मृतकका ठूलोबुबासहित दुई जनालाई पक्राउ गरिएको छ ।
बालिकाका बुबा दीपक पाँचकोटीको वैदेशिक रोजगारीमा केही समय अगाडि कतारमा मृत्यु भएको थियो । आमा मूना पनि विदेशमा थिइन् । ओमनबाट बिहीबार नेपाल आएपछि आमा मूनाले आरोपी जेठाजु र जेठानीविरुद्ध इलाका प्रहरी कार्यालय चक्रघट्टीमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएकी थिइन् ।
आफ्नो सम्पत्ति हडप्न जेठाजु र उनको परिवारले कुटपिट गरी छोरीको हत्या गरेको मृतककी आमा मूनाले आरोप लगाइन् । जाहेरीमा आरोपीद्वयले छोरीलाई यसअघि दैनिक कुटपिट गर्ने, खाना नदिने र यातना दिने गरेको र घटना भएको एक दिनअगाडि पनि कुटपिट गरेकाले सहन नसकेर दिपिनाले आत्महत्या गरेको उल्लेख गरिएको छ ।
आरोपीले हजुरआमासँग बसेकी दिपिनालाई छुटाएर ५ वर्षदेखि आफ्नो कब्जामा राखेको र दिवङ्गत श्रीमानको नाममा रहेको घरजग्गा बेची खाएको उनको आरोप छ । आफू विदेशमा रहेको फाइदा उठाएर जेठाजुले नामसारी नभएको जग्गा लिन एक्ली छोरीको हत्या गरेको पीडित मूनाले बताइन् ।
बालिकाको शवलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी दाह संस्कार गर्न शुक्रबार घर लगिएको थियो । शव लिएर घर पुगेपछि आरोपीद्वयलाई घरमा देखेपछि पक्राउ नगरिएको भन्दै पीडित र गाउँलेले शव उठाउन मानेका थिएनन् । एक दिनअगाडि नै जाहेरी दिएको भए पनि आरोपीलाई पक्राउ गर्नुको साटो प्रहरीले संरक्षण दिएको मृतककी आमा मूनाले आरोप लगाइन् ।
पुनरवासस्थित ठूलोबुबाको परिवारसँगै बस्दै आएकी बालिकाको शव भदौ १९ गते बिहान उनी सुत्ने कोठामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।
पक्राउ गरिएका आरोपीद्वयलाई थप अनुसन्धानका लागि इप्रका चक्रघट्टीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए । मुलुकी अपराध (संहिता) ऐन, २०७४ले आत्महत्यालाई आपराधिक कार्य नमाने पनि यसबारेमा केही नयाँ व्यवस्था गरेको छ । अर्थात्, कोही व्यक्तिले आत्महत्या गर्छ र उसलाई कसैले सो कार्य गर्न दुरुसात्हन गर्छ वा सो गर्न बाध्य तुल्याउँछ भने त्यस्तो व्यक्तिलाई आत्महत्या दुरुत्साहन गरेको कसुरमा फौजदारी सजायको व्यवस्था गरिएको छ । उक्त संहिताको दफा १८५ (१) मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने छ । यो खण्डमा दुईवटा सर्तमा यसलाई दण्डनीय बनाइएको छ । यी दुई सर्तलाई उदाहरणबाट हेर्दा बुझ्न सजिलो हुन्छ । पहिलो, ‘क’ भन्ने व्यक्तिले ‘ख’ लाई आत्महत्या गर्न दुरुत्साहन गर्न हुँदैन । दोस्रो, ‘ख’ले ‘क’लाई मर्नुको विकल्प नदिई मर्न बाध्य तुल्याएको अवस्थाको कल्पना गरिएको छ । तर, यी दुवै अवस्थाबारे वस्तुनिष्ठ व्याख्या कानुनमा छैन र नजिर पनि प्रतिपादन भइसकेको अवस्था छैन । सोही संहिताको दफा १८५(२)ले सो कसुर गरेमा पाँच वर्षसम्मको सजाय र पचास हजार रुपैयाँसम्मको जरिबानाको व्यवस्था गरेको छ ।


