तिहार सकिएर छठ सुरु भैसकेको छ । राज्यले बन्देज गरेको कार्य जुवा तास खेल्नेलाइ प्रहरीले पक्राउ गरिरहेको छ । बाग्मती प्रदेशको नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जुवाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् । बट्टारको रातो भाले नाम गरेको होटलबाट उनीहरुलाई मंगलवार राती साढे ७ बजेतिर ५८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा होटल संचालक राम शाहसहित अन्य ५ जनालाई पक्राउ गरिएको जनाएको छ । शाह नुवाकोटको लिखु गाउँपालिका वडा नंवर ४ चौघडाका नवनिर्वाचित काङ्ग्रेस वडा सभापती हुन ।
पक्राउ पर्ने अन्यमा विदुर नगरपालिका वडा नम्बर १२ का हरिशरण रिमाल, भिमबहादुर तामाङ, विदुर १ का राजकुमार उप्रेती, विदुर ४ का पवनमान श्रेष्ठ र दिनेश श्रेष्ठ रहेका छन् । उनीहरुलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


