NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

३५ वर्षीय बाेरिकले जिते राष्ट्रपतिकाे चुनाव, कसरी सम्भव भयाे ?

1 Mins read

३५ वर्षीय बाेरिकले जिते राष्ट्रपतिकाे चुनाव, कसरी सम्भव भयाे ?
काठमाडाैं। ल्याटिन अमेरिकी मुलुक चिलीमा सोमबार बिहान ३५ वर्षीय युवा ग्य्राबियल बोरिकले राष्ट्रपतिको चुनाव जिते। प्रशान्त महासागरको तटमा उत्तर-दक्षिण फैलिएको चिलीका राष्ट्रपति बन्ने बोरिक सबभन्दा कान्छा व्यक्ति हुन्।
सन् १९९० मा सैनिक तानाशाह हटेर प्रजातन्त्र पुनर्बहाली भएको चिलीमा त्यसयता मध्यमार्गी दलहरूले शासन चलाएका थिए। बोरिक प्रगतिशील वामपन्थी हुन्। आर्थिक, सामाजिक र विकासका सन्दर्भमा उनले निकै अग्रगामी एजेन्डाहरू अघि सारेका छन्। बोरिकले राष्ट्रपति जितेपछि ल्याटिन अमेरिकाका अन्य मुलुकहरू ब्राजिल, अर्जेन्टिना, पेरूका राष्ट्रप्रमुखहरूले उनलाई बधाई दिए। पृथ्वीको अर्को कुनामा बोरिकले जितेको घटनाले नेपालसम्म पनि तरंग ल्यायो।

नेपाली राजनीतिमा पनि युवा पुस्ता नेतृत्वमा आउनुपर्ने कुरा लामो समयदेखि उठिरहेको छ। माग युवाको भए पनि सबै राजनीतिक दलको शीर्ष नेतृत्वमा ६५ वर्षमाथिका पुराना नेताहरू छन्। युवा नेताहरु पार्टीको सर्वोच्च पद हुँदै देशको प्रमुख कार्यकारी बन्न नेपाली राजनीतिले अझै लामाे समय खर्चिनु पर्ला  ।

तर चिलीमा भने कसरी सम्भव भयो त ३५ वर्षमै बोरिकले राष्ट्रपति जित्न ?

एक करोड ९० लाखभन्दा बढी जनसंख्या भएको चिली प्रशान्त महासागरको तटमा रिबन आकारमा उत्तर-दक्षिण फैलिएको छ। सन् १८१८ मा स्पेनको उपनिवेशबाट स्वतन्त्र भएको चिलीले त्यसपछि ठूल्ठूला राजनीतिक उथलपुथल भोगेको छ। छिमेकी पेरू र बोलिभियासँगको युद्ध, गृहयुद्ध, तानाशाहको शासन, कम्युनिस्ट पार्टीहरूमाथि प्रतिबन्ध हुँदै चिलीको राजनीति अघि बढ्यो। सन् १९७० मा साल्भाडोर एलेन्डे राष्ट्रपति निर्वाचित भए। चुनावी प्रक्रियाबाट राष्ट्रपति बन्ने उनी संसारकै पहिलो मार्क्सवादी नेता हुन्। तर उनले पूरा कार्यकाल काम गर्न पाएनन्।

सन् १९७३ मा सेनाप्रमुख अगुस्टो पिनोसेटले कूमार्फत् सत्ता हत्याए। अगुस्टोले १७ वर्ष शासन चलाएपछि १९९० मा चिलीमा फेरि प्रजातान्त्रिक प्रक्रिया सुरू भयो। सत्ता छोड्नु दुई वर्षअघि अगुस्टोले आफू सत्तामा रहिरहने कि नरहने भन्नेबारे जनमत संग्रह गरेका थिए। जनमत संग्रहमा पराजित भएपछि उनले चुनाव गराएका हुन्।

अगुस्टोले सत्ता छाडेर मुलुक फेरि प्रजातान्त्रिक प्रक्रियामा जाँदा बोरिक चार वर्षका थिए। सत्ता छाडे पनि अगुस्टो १९९८ सम्म सेनाप्रमुख भइरहे। उनी आजीवन सिनेटर हुने व्यवस्था गरियो। यसबीच शासनमा आएका पार्टीहरूले चिलीको शासनमा सेनाको प्रभाव काम गर्न निकै मेहनत गरे।

सन् २००६ मा सेन्टर-लेफ्ट गठबन्धनकी मिसेल बाचलेट राष्ट्रपति निर्वाचित भइन्। चिलीमा राष्ट्रपति हुने उनी पहिलो महिला हुन्। त्यसपछि २००७ देखि चिलीमा सरकारविरूद्ध प्रदर्शन हुन थाले। त्यही वर्ष मार्चमा नयाँ यातायात व्यवस्थाविरूद्ध ठूलो प्रदर्शन भयो। कम आय भएका विद्यार्थीहरूलाई नि:शुल्क शिक्षा हुनुपर्ने भन्दै २०११ देखि २०१३ सम्म ठूल्ठूला प्रदर्शन भए। ती प्रदर्शनको नेतृत्व गरेका थिए बोरिकले।

त्यति बेला बोरिक युनिभर्सिटी अफ चिलीमा कानुन पढ्दै थिए। पढाइ सँगसँगै उनी राजनीतिमा पनि सक्रिय थिए। उनी युनिभर्सिटी अफ चिली स्टुडेन्ट्स फेडरेसनका अध्यक्ष थिए। २०११ को आन्दोलनले उनको चर्चा चुलियो। २०१३ मा उनले सांसदमा उठ्ने निर्णय गरे। विभिन्न वाम पार्टीहरूसँग नजिक भए पनि बोरिकले स्वतन्त्र उम्मेदवारी दिए। पहिलो प्रयासमै उनी सफल भए।

चार वर्षपछि सन् २०१७ मा उनी फेरि संसदमा लडे। यसपालि उनी वामपन्थी गठबन्धन ‘ब्रोड फ्रन्ट’ मा संलग्न भएका थिए। ब्रोड फन्टमा विभिन्न वाम राजनीतिक दल सहभागी थिए। अटोनोमिस्ट मुभमेन्ट, लिबरेसन लेफ्ट, सोसलिज्म एन्ड फ्रिडम र न्यू डेमोक्रेसी लगायत पार्टी मिलेर सन् २०१८ मा नयाँ दल दर्ताको प्रक्रिया सुरू भयो। बोरिक अध्यक्ष रहेको सोसियल कन्भर्जन्स दल २०१९ मा मात्रै दर्ता भएको थियो।

२०१९ अक्टुबर र नोभेम्बरमा चिलीमा फेरि ठूला प्रदर्शनहरू भए। आर्थिक असमनाताविरूद्ध भएका प्रदर्शनपछि सरकारसँग नेगोसिएसन गर्ने प्रमुख व्यक्ति बोरिक थिए। संयुक्त राष्ट्रसंघका अनुसार चिली धनी र गरिबबीच ठूलो असमानता भएको मुलुक हो। त्यहाँका १ प्रतिशत धनीसँग देशको २५ प्रतिशत सम्पत्ति छ।

अगुस्टोको पालामा जारी भएको संविधानले आर्थिक असमानता बढाएको भन्दै उक्त संविधान पुनर्लेखनको माग उठिरहेको थियो। २०२० मा भएको जनमत संग्रहमा संविधान फेरि लेख्नुपर्ने पक्षले जित्यो। अहिले चिलीको संविधान पुनर्लेखन प्रक्रिया चलिरहेको छ। दुईपटक सांसद भइसकेपछि बोरिकले यसपालि राष्ट्रपति उठ्ने निधो गरे। संविधानले राष्ट्रपति हुन तोकेको ३५ वर्ष उनी यसै वर्ष पुग्दै थिए। चिलीमा राष्ट्रपति उम्मेदवार बन्न पहिला पार्टीको प्राइमरी चुनाव जित्नुपर्छ। पार्टीको चुनावमा बोरिकले अत्यधिक बहुमतले जिते।

त्यसपछि उनी सोसियल कन्भर्जन्सबाट राष्ट्रपति उम्मेदवार बने। उम्मेदवार बनेपछि उनले प्रगतिशील मुद्दाहरूलाई आफ्ना एजेन्डा बनाए। नवउदारवादको अन्त्य गर्दै धनाढ्यहरूमाथि कर बढाएर लोककल्याणकारी राज्य बनाउने बोरिकको प्रमुख एजेन्डा हो। ‘ल्याटिन अमेरिकामा चिली नवउदारवादको कोख थियो भने चिली नै अब यसको चिहान बन्नेछ,’ चुनावी अभियानका क्रममा बोरिकले भने।

उनले चिलीमा सातामा काम गर्ने समय ४५ बाट ४० घन्टामा झार्ने वाचा गरे भने महिलाहरूका लागि पाँच लाख नयाँ रोजगारी सिर्जना गर्ने आश्वासन दिए। उनले गरिबहरूको पहुँच बढाउन चिलीको निवृत्तिभरण र स्वास्थ्य सेवा प्रणालीको पुनर्संरचना गर्ने प्रतिबद्धता जनाए।

जलवायु परिवर्तनका असर कम गर्ने, अल्पसंख्यकहरूका अधिकार सुनिश्चित गर्नेजस्ता बोरिकका योजना थिए। उनका प्रतिस्पर्धी भने उग्रदक्षिणपन्थी थिए। ५५ वर्षीय जोस एन्टिनिओ कास्ट सैनिक तानाशाह अगुस्टोका नीतिको प्रशंसा गर्थे। नौ सन्तानका बुवा उनी गर्भपतनलाई कानुनी मान्यता दिनु हुँदैन भन्थे। छिमेकी देशबाट आउने आप्रवासीले चिलीमा अपराध बढाएको भन्दै सीमामा पर्खाल लगाउनुपर्ने उनको प्रस्ताव थियो। परम्परागत मूल्य-मान्यतामा आधारित भएर स्थिर र सुरक्षित चिली बनाउने उनको भनाइ थियो।

सैनिक तानाशाह ढलेको तीस वर्षसम्म मध्यमार्गी नेताले शासन गरेको चिलीमा यसपालि दुई ‘र्‍याडिकल’ नेताहरू राष्ट्रपति चुनावको दौडमा सबभन्दा अगाडि थिए। उनीहरूका मुद्दाबारे समाज निकै विभाजित थियो। पहिलो चरणको चुनावमा कास्टले सबभन्दा बढी मत पाए भने बोरिक दोस्रो स्थानमा आए।

चिलीमा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। पहिलो चरणमा राष्ट्रपतिको टुंगो नलागेपछि दोस्रो चरणमा बोरिक र कास्टबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। सोमबार मतपरिणाम आउँदा भने त्यो अनुमान गलत साबित भयो। बोरिक झन्डै ५६ प्रतिशत मत ल्याएर विजयी भए। यो जितसँगै बोरिक अब मार्च ११ मा चिलीको राष्ट्रपति बन्दै छन्।

उनका आलोचकहरू बोरिकमा राजनीतिक अनुभव कम भएको र उनले अगाडि सारेका योजना कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण रहेको बताउँछन्। शरीरमा ट्याटु खोपेका बोरिक टाई लगाउन मन पराउँदैनन्। उनी स्वयंले राजनीतिमा आफूले सिक्नुपर्ने कुरा धेरै रहेको स्वीकारेका छन्। कतिपयले भने चिलीका राजनीतिक संभ्रान्तहरूसँग बोरिकको सम्बन्ध नभएकाले उनलाई काम गर्न सजिलो हुने अनुमान गरेका छन्

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *