आठौं राष्ट्रिय महाधिवेशन टुंगिएपनि माओवादी केन्द्रको पदाधिकारीको टुंगो लागेको छैन । हिजो सकिएको महाधिवेशनले २३६ सदस्य केन्द्रीय समिति चयन गरेको छ भने आज जेष्ठताका आधारमा बस्ने पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी चुन्ने प्रचण्डले हिजो नै घोषणा गरेका थिए । माओवादीको १५ पदाधिकारीमा अन्य पदमा चर्को प्रतिस्पर्धा नभएपनि महासचिव भने सवैको चासोको विषय बनेको छ । महासचिवमा यस अघि चर्चा गरेपनि ऊर्जामन्त्री पम्झ भुसाल अहिले दौडमा देखिएकी छैनन् । तर सोही खेमाका नेता मानिने देवप्रसाद गुरुङको इन्ट्री भएको छ । गुरुङ मात्रै हैन महासचिवको दौडमा हरिबोल गजुरेल र शक्ति बस्नेत पनि छन् । यस अघि चर्चाको शीखरमा रहेका वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिस्पर्धा त पुरानै हो । माओवादी उच्च स्रोतका अनुसार अहिले सहमतिका आधारमा महासचिव चयन गर्ने हो भने देव गुरुङ, हरिबोल गजुरेल वा शक्ति बस्नेतका नाममा गर्न सकिने नयाँ तर्क अघि आएको छ । यी तीन नाममा सहमति नहुने हो भने चुनावी प्रकृयामा जाने र चुनावमा जाँदा चीनमा उपचार गराईरहेका नेता वर्षमान पुन र जनार्दन शर्मा पनि थपिने पक्का छ । सहमतिका लागि अघि सारिएका गुरुङ, गजुरेल वा बस्नेतले पनि उम्मेदवारी दिएमा चुनाव भएको खण्डमा ५ नेताबीच हुने देखिएको छ भने उनीहरुले फिर्ता लिएमा पुन र शर्मा भने पछि नहट्ने दृष्य देखिएको एक नेताले बताए । चीनमा उपचारारत नेता पुनले गुरुङ, गजुरेल वा बस्नेतका नाममा पार्टीले सहमति गरेर आजै टुंगो लगाए आपत्ति नहुने तर चुनावमा जाने हो भने आफ्नो पनि दावी रहेको र चीनबाटै चुनाव लड्ने सन्देश अध्यक्ष प्रचण्डलाई पठाएका छन् । केन्द्रीय समितिमा हिजो चयन भएका २ सय ३६ सदस्यको सूची देखेर नेता पुन हौसिएका छन् । माओवादीमा २सय ३६ केन्द्रीय सदस्य चुनिएपनि झण्डै ८० जना मनोनय गर्न बाँकी छ । माओवादीको विधानमा २९९ केन्द्रीय सदस्य रहने कुरा उल्लेख छ । त्यसमा अध्यक्ष प्रचण्डले १५ प्रतिशत मनोनयन गर्न पाउनेछन् । तर अहिले २३६ जना मात्रै टुंगिएका छन् । केन्द्रीय समिति पूर्ण नभईकन पदाधिकारी चयन गर्दा कानूनी प्रश्न उठ्न सक्ने तर्क पनि अघि आएको छ । २३६ जनाबाट पदाधिकारी चयन गर्दा पछि मनोनयन भएर आउने केन्द्रीय सदस्यहरुको पदाधिकारी हुन पाउने अधिकार खोसिने छ । त्यसैले पहिलो कार्यसमिति पूर्ण बनाएर मात्रै पदाधिकारी चयन गर्नु उत्तम हुने कानूनविद्हरुको सूझाव छ ।


