हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब देखि पश्चिम् त घरी उत्तर देखि दक्षिणतर्फ यात्रारत निला, सेता बादलहरुलाई नियाल्दै गाउँमा किसानहरू रोपाइँको योजना बुन्न थाल्दछन्। घाम ,पानीसंगै किसानहरू खेतमा पोखिन्छ्न।
तर गाउँ अहिले रुपान्तरणको बाटोमा छ।
म सानी छ्ँदा गाउँमा मैले देखेको रोपाइँ र आज मैले देखिरहेको रोपाइँमा केहि भिन्नता र नवीनता महशुस हुन्छ।मलाई यस् ले नोसटालजिक बनाउँछ।मलाई त्यो धान रोपाइँको सम्झना आउँछ जसको तस्बिर म संग छैन तर यादहरुको अनगिन्ती सङ्हालो म भित्र बाँचिरहेछ।
सप्तकोसीको भंगालो घरको आँगनको केही दुरि परबाट बगिरहन्थ्यो।बर्खामा सप्तकोसी रंग बदल्थ्यो।अरुबेला बादलका रंगहरुले पोतियझैँ देखिने नदि धमिलो हुन्थ्यो ।नदि धमिलियुन्जेल घरछेउको बाटोको डिलबाट हेर्दै पानी कति बढ्यो कति घट्यो अनुमान् लगाइरहन्थ्यौँ ।असारले बोकेर आउने ब्यस्तताले गाउँका बा,आमा,दाज्यै सबैलाई गिजोल्थ्यो।बिहान् देखि बेलुकासम्म हातमा धानको बिउ बोकेर हिलाम्मे खेतमा भासिरहनु कुनै रमाइलो बिषय पक्कै थिएन र हुँदैन पनि जत्ती मलाई त्यो बेला लाग्ने गर्दथ्यो।मेलामा आमालाई पछ्याउनु अनि आमा संग संगै खेतका आलि हुँदै खेतभित्र पसि धान रोप्न खोज्नु ,आमाका लागी मेरो साथ नभएर काम बडाइदिने समस्या थियो ।
गाउँमा रोपाइँ सामुहिक रुपमा हुने गर्थ्यो ।रोपाइँका लागि उपकरणको प्रयोग तुलानात्मक रुपमा न्यून थियो ।घर घरमा रोपाइँका लागि हल गोरू ,हल राँगालाई तयार गरिन्थ्यो।घरका एक जना सदस्य खेताला जाने गर्दथे।पर्मको खेताला।रोपाइँका दिन कसैलाई फुर्सद हुदैनथ्यो ।त्यो बेला म पनि आलि आलि दगुर्दै खेतालाहरुलाई पानी पुर्याइदिन्थे,बज्यैहरुलाई बिडिका लागि पात त घरी आगोको अगुल्टो पुर्याइदिन्थे।उमेर र क्षमता अनुसारको काम भनौं ।बा,काका र दाज्यैहरु नारियको गोरु पछि पछि ह ….ह..माले,ह….ह तारे भन्दै खेतको चारकुना घुमिरहन्थे।
पहिलोपल्ट रोप्नु अगाडी दुई तीनवटा धानको गाँज खेतको आलिमा रोपद्थे। अनि मात्र खेतमा धान रोप्न सुरुवात गर्थे।असारे गितले केही समय खेतनै गुन्जयमान हुन्थ्यो।म खेतको डिलमा टुकरुक्क बसेर केहीबेर त हेरिरहन्थे तर हिलो र हरिया बिउका मुठा देखेर हृदय उत्साहित हुन्थ्यो।आमाले ज्ञानि भएर आलिमै बस्नु है भनेको वाक्यले पुर्णबिराम नपाउदै मन खेतको हिलोमा हामफाली सक्थ्यो।लाग्छ त्यो समय कसैले केही नगर् है भनेर गाली गर्ने बित्तिकै चुपचाप लागेर झोक्रीने समय थिएन ।त्यो समय त आफूलाई मात्र सुन्ने समय थियो सायद ।
गाउँको रोपाइँमा अर्को मुख्य आकर्षण थियो खाजाको प्रकार।घिउमा भुटेको चाम्रे,गुन्द्रुकको अचार ,मस्यौरा,फर्सी र आलु को सब्जी अनि मोहिको सोल्लर ।यो खाजा गाउँभरी को रोपाइँमा प्रचलित थियो।
रोपाइँ समाबेशी थियो।कुलेसो र आलिका लागि गाउँ बाडिन्थयो ,पुनः कुलेसो र आलिकै लागि गाउँ जुट्थ्यो पनि।
मैले यी कुरा सम्झदै गर्दा ,समय करिब एक दशक भन्दा ज्यादा बितिसकेको रहेछ।बर्तमानमा पनि मैले सानो छदाँ देखे जस्तै रोपाइँका चलनहरु कतिपय गाउँ घरका आँगनमा जीवितै छन् ।खेतबारीमा फैलिरहेका छन् ।यो ग्रामीण कृषिको आफ्नो पहिचान हो।
मौलिकता ,परम्परा झल्काउने हिजोको ग्रामीण कृषि उत्पादनका हिसाबले कमजोर मानिन्थ्यो ।
आजको कृषि प्रणाली परिस्कृत छ ,परिमार्जित छ।आधुनिक प्राविधि तथा बैज्ञानिक पदद्तीको अबलम्बन गर्दै ग्रामीण कृषि उन्नतिकोपथमा यात्रारत देखिन्छ ।
आजकाल गाउँमा काँधमा हलो र जुवा भिरेर गोरुहरलाई पछ्याउँदै हिँडेको दृश्य बिरलै देख्न पाइन्छ ।गाउँ समृद्धि तर्फ अग्रसर हुँदैछ भन्ने कुरा खेतमा चलाइने ट्रयाक्तर,पावर टिलर ,थ्रेसरका आवाजहरुले अबगत गराइरहन्छ्न।
तर पनि गाउँमा अझै अनगिन्ती अपुरा सपना र सम्भावना बोकेर खेतबारीहरु उभिरहेका छन् ।कयौं बर्षदेखि गाउँमा ,कतै मल पुग्न नसकेका खेतबारी ,कतै सिँचाइले बाटो नदेखेका खेतबारी त कतै इच्छाशक्ति र जनशक्तिको अभावमा सीमान्तकृत बनेका खेतबारीहरु उन्मुक्तिको पर्खाइमा छन् ।
खैर! अहिले चाहिँ फेरी पनि आशा राखौंकि हरिया रंगले भरिएका खेतका घराहरुले पहेँलो रंग फेरि घरको भकारीहरु भरिदिनेछ्न।आशा राखौं कि मकैका डोढले काटेका किसानका पाइतालाहरुले ,हिलोले खायका खुट्टाका कापहरुले राहत पाउनेछन।। एलिसा बस्नेत , उदयपुर बेलका -९


