एमसीसी बारेमा आफ्नो भनाइ बंग्याएर समाचार प्रकाशित गरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का असन्तुष्ट व्यक्त गरेका छ्न
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका उनले आइतबार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सम्बन्धमा आफूले बोलेको भनाइलाई गलत अर्थ लाग्ने गरी समाचार बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकाबाट एमसिसी जस्ताको जस्तै पास हुन्छ भनेर नबोलेको बताउनु भएको छ । उहाँले सोमबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जस्ताको तस्तै पास हुन्छ भनेर नबोलेको स्प्रष्टीकरण दिनु भएको हो ।
उहाँले स्टाटसमा लेख्नु भएको छ, ‘समाचारहरु सत्य र तथ्य को आधारमा नवनाएर दलीय पूर्वाग्रह मा वनाउने हो भने के लाई विश्वास गर्ने भन्ने गंभीर प्रश्न मात्रै उठदैन यस्ले जनतामा नराम्रो भ्रम खड़ा गर्छ र अन्ततः समाजलाईनै हानी पुर्याउछ
आइतबार उनले न्यूयोर्कको एक कार्यक्रममा अमेरिकाले एमसीसी फिर्ता लाने तर नसच्याउने भनेको भन्दै समाचार प्रकाशित भएको थियो । तर सो कार्यक्रममा आफूले सो अभिव्यक्ति नदिएको उनको दाबी छ ।
उनले एमसीसीका बारेमा सबै दलका प्रतिनिधि, राजदूतावासका कर्मचारी लगायतको उपस्थितिमा आफूले बोलेको उल्लेख गरेका छन् । एमसीसीले नेपालले सोधेका सबै प्रश्नको जवाफ दिएको सन्दर्भमा अहिले संशोधन गर्न नमान्न सक्ने भनाइ मात्रै राखेको खड्काले दाबी गरेका हुन् ।
उनले कार्यक्रममा नेपालको हितमा हुने भए एमसीसी लिन सकिने, तर लिनै पर्छ भन्ने बाध्यता नभएको भनाइ राखेको ठोकुवा गरे । यही विषयलाई आफ्नो दृष्टिकोण अनुसार समाचार बनाइएको भन्दै उनले प्रश्न गरे, ‘के यसरी नै हामी अगाडि बढ्छौं, देश अगाडि बढ्छ? ‘


