नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिको सचिवमा सुनसरीका अइन्द्रविक्रम बेघाले सशक्त दावेदारी गरेका छन् ।
माओवादी केन्द्रको प्रदेश नम्बर १ को सम्मेलन यही मंसिर २५ देखि २७ सम्म भएको थियो र सो अधिवेशनबाट निर्वाचित समितिले पदाधिकारी छान्न पुस ७ गते बैठक तय गरेको छ ।
त्यसको निम्ति मंसिर २९ गते प्रदेश समितिको प्रथम बैठक जेष्ठ सदस्य टंक गिरीको अध्यक्षतामा बसी पदाधिकारी छनौट र समितिको सदस्यहरुको समावेशी सूचीअनुसार मिलाउने गरी अजम्बर काङवाङको संयोजकत्वमा ५ सदस्य सुझाव समिति गठन गरेको छ ।
सो समितिले पदाधिकारी र समावेशी नमिलेको सदस्यहरुको संख्या सूचीसहित सुझाव तयार गर्नेछ । विधानअनुसार पदाधिकारीको संख्या ९ रहने व्यवस्था छ । अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सह–सचिव ३ र कोषाध्यक्ष १ । अहिले प्रदेशको अध्यक्ष र सचिव पदका आकांक्षा राख्नेहरुको संख्या बढिरहेको छ ।
उपाध्यक्ष, सह–सचिव र कोषाध्यक्षमा कमको दावी छ । यसैक्रममा सुनसरीबाट प्रदेश सचिवका दावेदार बेघाले आफ्नो दावी रहेकोे पुष्टि गरे । उनले भने, ‘सबै हिसाबले म प्रदेश सचिवको लागि योग्य छु । म माओवादी आन्दोलनमा निरन्तर छु । यहाँ मैले सबै खालको त्याग र वलिदान गरेको छु । यहाँको आन्दोलनलाई जोडेर अघि बढ्ने शक्तिशाली संगठन बनाउने अठोट लिएको छु र म युवा पनि हो ।’
सचिवका दावेदार बेघा विद्यार्थी राजनीतिबाट आएका हुन् । उनले राजनीतिक बन्दीको रुपमा ३ वर्ष जेलजीवन बिताएका थिए भने ११ महिना तत्कालीन राज्यद्वारा बेपत्ता पारिएको थियोे । उनी अहिले धरानको लोकप्रिय र जनप्रिय नेताको रुपमा स्थापित छन् । उनी अहिलेसम्म राम्रो छवि भएको नेताको रुपमा चिरपरिचित छन् ।


