NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

भाग २’ कै लागि कथालाई तन्काइँदा ‘पुष्पा’ले अर्को भागका लागि दर्शकमा कुतूहल भने खासै जाग्दैन

1 Mins read

‘भाग २’ कै लागि कथालाई तन्काइँदा ‘पुष्पा’ले अर्को भागका लागि दर्शकमा कुतूहल भने खासै जाग्दैन
बलिउडमाथि हाबी बन्दै गरेको दक्षिण भारतीय फिल्मले पछिल्लो समय नेपालमा पनि दर्शक पाउन थालेको छ । अल्लु अर्जुन अभिनित ‘पुष्पा’ले एक सातादेखि लगातार पाइरहेको हाउसफुल दर्शक,दक्षिण भारतीय फिल्म उद्योगले नेपाली दर्शकमाझ पारेको प्रभावको प्रमाण हो ।

एसएस राजमौलीको ‘आरआरआर’, ‘केजीएफ-२’नेपाली दर्शकबीच प्रतिक्षित बन्दै जाँदा बलिउडलाई उछिन्दै गरेको दक्षिण भारतीय फिल्मले नेपाली दर्शकमा आफ्नो छाप छोडेको प्रस्ट हुन्छ । हिन्दी भाषामा डबिङ गरिएका यी फिल्महरु नेपालका हलमा भने राजमौलीकै बाहुबली(६ सय ५० करोड)र बाहुबली-२(१७ सय करोड) पछि ढुक्कले प्रदर्शन हुन थालेको हो । युट्युबमा प्रदर्शनमा आएको केही दिनमै दक्षिण भारतीय फिल्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्नुले नै फिल्मप्रतिको क्रेज झल्किन्छ ।

अल्लु अर्जुनको क्रेज कति छ भन्ने कुरा चलचित्रमा उनको प्रवेशमा दर्शकले गर्ने हुटिङबाट पनि झल्किन्छ । त्यतिमात्रै होइन, उनको हिँड्ने र बेलाबेला दाह्रीमा हात लैजाने शैलीमा पनि थुप्रै टिकटक भिडियो बनाइएको छ ।

दक्षिण भारतीय फिल्म उद्योगको स्टार हुन् अल्लु अर्जुन । बहुप्रतिक्षित मानिएको उनको फिल्म’पुष्पा’ले गत शुक्रबारदेखि भारतका हलमा मात्रै होइन नेपालकै हलमा पनि दर्शकको ओइरो लगाइदिएको छ । कोभिडपछि प्रदर्शनमा आएको ‘सूर्यवंशी’पछि हलसम्म दर्शकको भीड जम्मा गर्न सफल यो फिल्म ‘स्पाइडरम्यान: नो वे होम’सँगै प्रदर्शनमा आएको हो ।
प्रदर्शनको एक साता बित्न लाग्दा पनि फिल्मले नेपालमा हाउसफुल दर्शक पाउनु अल्लुले कमाएको फ्यानको प्रतिफल हो । बलिउड मसालाले भरिएको यस फिल्ममा रक्तचन्दन तस्करीमा लागेका पुष्पा(अल्लु)को कथा देखाइएको छ । जो, आम मजदुरीको काम छोडेर इज्जत/पैसा कमाउनकै लागि रक्तचन्दनको तस्करी गर्ने गिरोहमा मिसिन पुग्छन् । सुरुमा रक्तचन्दन काट्ने र ओसार्ने कामदार बन्छन् । एकदिन डीएसपी गोविन्दप्पाले जंगलमा छापा मार्ने क्रममा तस्करी गरिएका रक्तचन्दन उनको आँखै अगाडि लुकाउन सफल भएपछि तस्कर गर्ने माफियाबीच पुष्पाले भरोसा कमाउँछ । त्यसपछि रक्तचन्दनको तस्करमा कुख्यात कोन्डा रेड्डीको पार्टनर बन्छन्। अरुका अगाडि झुक्न नचाहने, हठी स्वभावका पुष्पाले रक्तचन्दनलाई गोविन्दप्पाबाट बचाउँदै नाफाको व्यापार सुरु गरिदिन्छन् । तर त्यसैबीच पुष्पाकै कारण सिन्डिकेटर मंगलम श्रीनुले तस्करसँग कम मूल्यमा रक्तचन्दन किनेर व्यापारीलाई धेरै रकममा बेच्ने गरेको वास्तविकता बाहिरिएपछि कोन्डा र श्रीनुबीच दुस्मनी बढ्छ । सिन्डिकेटरसँगै दुस्मनी बढेपछि कोन्डाले रक्तचन्दनको व्यापार कसरी गर्लान् ? के पुष्पा सँधै गोविन्दप्पाको आँखा छलेर रक्तचन्दन तस्करी गर्न सफल बन्लान् ? ‘पुष्पा’को कथायत्ति हो ।

सामान्य मजदुरीबाट पुष्पा कसरी उदाउँछ तीन घण्टा लामो फिल्मले पुष्पालाई उठाउन भरमग्दुर प्रयास गरेको छ ।भन्न खोजिएको कथा सजिलै भनिदिएको भए पुष्पाको कथा लम्बाइरहनु पर्थेन । तर निर्देशकले भन्न खोजेको कथा सजिलै भन्न नसक्दाको परिणाम बन्यो, पुष्पा । फिल्मको मुख्य द्वन्द्वमा पटकथाकार अलमलिएपछि’पुष्पा’को कथा उपकथातिर छरिएको छ । श्रीवल्लीसँगको प्रेम अनि पुष्पाको पारिवारिक पृष्ठभूमिमा धेरै समय खर्चिइएको छ । क्लाइमेक्स पनि त्यति चुस्त लाग्दैन । क्लाइमेक्सका कति दृश्य त दर्शकले पहिल्यै अनुमान गर्न सकिने किसिमका छन् । मध्यान्तरपछिको कथा रक्तचन्दन तस्करीको विषयवस्तुलाई उठाउनुभन्दा पनि बढी तस्करहरुबीचको दुस्मनी सल्टाउनमै केन्द्रित हुन्छ । त्यतिबेलासम्म दर्शकले रक्तचन्दनको विषय बिर्सिसक्छन् ।

फिल्म सम्पादनका कमजोरी दर्शकलै सहजै थाहा पाउने खालका छन् । पानीमाथिबाट बग्दै गरेको रक्तचन्दनको दृश्यमाथि विश्वास गर्न गाह्रो हुन्छ । पानीमा काठभन्दा पनि प्लास्टिक बगेको जस्तै दृश्य देखिन्छ ।

फिल्ममा पात्रहरुको स्थापनामा मात्र होइन ‘सेफ ल्यान्डिङ’मा समेत समय धेरै लगाइएको छ । कुनै पनि कथाको अन्त्यतिर पात्रहरुको सटिक अवतरण गरिन्छ । तर ‘पुष्पा’मा कथाको अन्त्य त हुन्छ तर नयाँ पात्रहरु थपिँदै जान्छ । तस्करीहरुबीचको दुस्मनीमा सिन्डिकेटर श्रीनुका साला मारिन्छन् । श्रीनुकी पत्नी पुष्पासँग बदला लिन चाहन्छिन् । त्यसैको रिसमा श्रीमान्‌को घाँटीमा ब्लेड चलाइदिन्छन् । उता गोविन्दप्पापछि अर्का डीएसपी भवरसिंह सेखावतको इन्ट्री हुन्छ । डीएसपी शेखावतको पात्र स्थापनाका लागि कथालाई बढी नै तन्काइएको छ । तीन घण्टा लामो ‘पुष्पा’को कमजोर पक्ष नै यो हो ।

भाग २’कै लागि कथालाई तन्काइँदा ‘पुष्पा’ले अर्को भागका लागि दर्शकमा कौतुहलता भने खासै राख्दैन । सेखावतको कथाले न त दर्शकलाई फिल्मसँग जोडेर राख्छ न त फिल्मलाई रोचक बनाउँछ नै । फिल्ममा यति धेरै पात्रहरु देखाइन्छन् कि ती पात्रहरुलाई किन महत्त्वका साथ पर्दामा देखाइयो भन्ने नै पुष्टि हुन्न । सुरुवातमा शक्तिशाली देखाइएको गोविन्दप्पालाई एकैचोटी कमजोर देखाउनु न्यायपूर्ण देखिँदैन । श्रीनु, कोन्डा रेड्डीका भाइ जोली रेड्डी, जक्का रेडीलाई शक्तिशाली पर्दामा बिनाकाम धेरै समय दिइएको छ । अभिनेत्री श्रीवल्ली(रस्मिका मन्दना) लाई भूमिकालाई पनि परम्परावादी शैलीमा प्रस्तुत गरेर कमजोर बनाइएको छ ।

पुष्पालाई बलियो देखाउनकै लागि फिल्मको केही दृश्यमा उनी अटाएकी छन् । केबल नायकसँगको रोमान्सका लागि उनलाई भूमिका दिइएको जस्तो देखिन्छ । ‘पुष्पा’को यीनै कमजोरीले अल्लु अर्जुनको प्रतिक्षित मानिएको फिल्मलाई ‘अचारबिनाको खल्लो परिकार’ बनाइदिएको छ । तर, अल्लु र फहाद फासिल(शेखावत) को अभिनयले फिल्मको कथामा केही प्रतिशत भए पनि प्राण भरिदिएको छ । अभिनेत्री रस्मिकाले पनि आफ्नो चरित्रलाई न्याय दिएकी छन् । एक मुक्काले १० जनालाई उडाउन सक्ने एक्सन, जबरजस्त घुसाइएको मेलोड्रामा र बन्दाबन्दैको बिग्रिएको कथा हेर्न चाहने अल्लु अर्जुनका फ्यानले मात्र यो फिल्मलाई झेल्न सक्नेछन् ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *