NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

प्रचण्डको दिमागमा रहेकाे पदाधिकारीको स्केच

1 Mins read

‘प्रचण्डको दिमाग’मा रहेकाे पदाधिकारीको स्केच । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनबाट पदाधिकारी टुंग्याउन निकै सकस पर्ने देखिएको छ । विषेशगरी अध्यक्षपछिको कार्यकारी पद महासचिवमा आकाँक्षीहरुबीच कडा टक्कर हुने देखिएको हो ।

माओवादी केन्द्रको मूल नेतृत्व ३२ वर्षदखि २०४६ साल यता अध्यक्ष प्रचण्डले नै गरिरहेका छन् । उनलाई प्रतिस्थापन गर्ने अनुहार अहिलेसम्म देखिएको छैन । माओवादीको आठौं महाधिवेशनमा पनि उनलाई अध्यक्षमा काउन्टर दिन कुनै पनि नेता तयार छैनन् । तर अध्यक्षपछिको बाँकी १४ वटा पदाधिकारी पदमा भने आकांक्षी धेरै भएपछि हानाथाप भएको छ ।  केन्द्रीय सदस्य तथा पदाधिकारीमा आकाँक्षीहरुको संख्या ठूलो भए  निर्वाचनमार्फत पदपूर्ति हुने  देखिएको छ । माओवादी केन्द्रको महाधिवेशनले अहिले राजनीतिक प्रतिवेदन र विधान पारित गर्नेछ भने प्रदेशको सिफारिसका आधारमा समावेशीतासहितकाे केन्द्रीय कमिटी चयन गर्नेछ । तर पदाधिकारीमा भने ठूलै रस्साकस्सी चल्ने माओवादी नेताहरुले बताएका छन् ।  अहिले अध्यक्ष प्रचण्डलाई पदीय व्यवस्थापन गर्न निकै चर्को पर्ने देखिएको छ । नेताहरुको पंक्ति र आकाँक्षीको संख्या देखेरै अध्यक्ष प्रचण्डले विधानमा पदाधिकारीको संख्या बढाउनेगरि मस्यौदा गर्न सुझाव दिएका थिए । सोही अनुसार विधानमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।  अध्यक्ष प्रचण्डले नेताहरुको पंक्ति हेरेरै पदाधिकारीको स्केच तयार पारेर विधान संशोधन गरेको महाधिवेशनमा सहभागि  एक नेता बताउँछन् । विधानले दुई वटा उपमहासचिव पद र एक वरिष्ठ उपाध्यक्ष पद थप गरेपछि धेरै सशंकित पनि भएका छन् । दुई उपमहासचिवमा को रहने भन्ने विषयले नै पार्टीको महासचिव तय हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ति नेताले भने,‘दुई उपमहासचिव पद त्यसै विधान संशोधन गरेर थपिएको होइन, महासचिवका आकांक्षीलाई त्यस पदमा व्यवस्थापन गर्नका लागि थपिएको हो ।’  माओवादी केन्द्रको विधान अनुसार महाधिवेशनबाट केन्द्रीय सदस्यको टुंगो लागेपछि मात्रै पदाधिकारी चयन प्रक्रियामा प्रवेश गर्ने छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य टुंगो लगाएर उनीहरु घर फर्किनेछन् । निर्वाचित भएको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्ने माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले समाचारदैनिकलाई जानकारी दिए ।   को बन्दैछ महासचिव माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी हुनेछन् । अध्यक्ष बाहेकको पदमा आकांक्षी धेरै भएकाले पदाधिकारी सर्वसम्मत बनाउन चर्को पर्ने देखिएको छ । विधानअनुसार पार्टीलाई समावेशी बनाउनु पर्ने भएकाले यसले झन् चुनौती थपेको हो । अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग टुंगिए सरह भएका छन् । यसअघि महासचिव कृष्णबहादुर महरालाई प्रचण्डले उपाध्यक्ष बनाउने स्रोतको दाबी छ । अहिले महासचिवका लागि बढी आकांक्षा देखाउनेमा नेतात्रय पम्फा भुसाल, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।  भुसाल नेपाली राजनीतिमा दलको  पहिलो महिला अध्यक्ष बनेर इतिहास रचेकी नेतृ हुन् । उनी अहिले पनि माओवादीमा सकृय र बलियो नेताको पंक्तिमा अध्यक्ष प्रचण्डको विश्वासपात्र मध्यमा पर्छिन् ।  ०४६ सालको जनआन्दोलनपछि विभिन्न चार वटा कम्युनिस्ट पार्टीबीच एकता गरेर नेकपा एकता केन्द्र बनाइएको थियो । यस पार्टीको खुला मोर्चाको रुपमा संयुक्त जनमोर्चा थियो । भुसाल संयुक्त जनमोर्चाको सचिव, महासचिव हुँदै अध्यक्ष समेत भइन् । संयुक्त जनमोर्चाको अध्यक्षको जिम्मेवारीबाट मुक्त भएपछि माओवादीको केन्द्रीय सदस्य भइन् । उनी माओवादीले जनयुद्ध सुरु गर्दाको एकमात्र महिला केन्द्रीय सदस्य पनि हुन् । उनी माओवादीको स्थायी समिति सदस्य भएकाले बेलामा पार्टी विभाजन भएको थियो । ०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादीलाई छोडेर मोहन वैद्य किरण नेतृत्वको नेकपा– माओवादीतिर लागिन् । पछि वैद्य नेतृत्वको पार्टी विभाजन गरी रामबहादुर थापाको नेतृत्वमा पुरानै घर फर्किइन् । अहिले त्यो समूहको देव गुरुङ पछिको प्रभावशाली नेता हुन् । भुसालले अहिले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वसमेत गरिरहेकी छन् ।  यस्तै महासचिवका अर्का दावेदार वर्षमान पुन अनन्त पार्टीभित्र भुसालपछिको रोलक्रममा रहेका नेता हुन् । अन्य नेताको तुलनामा उनी कम उमेरमा राजनीतिक उचाइ हासिल गर्ने राजनीतिक, कुटनीतिक र फौजी कौशलसमेत भएका नेता पनि हुन् । उनी माओवादी जनयुद्धका बेला ०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी थिए भने ०५५ सालमा केन्द्रीय सदस्य भए । अनन्त ०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य र  त्यसको दुई वर्षपछि ०५९ सालमा पोलिटब्यूरो सदस्य तथा सैन्य क्षेत्रमा डेपुटी कमाण्डर भए । माओवादी जनयुद्धलाई पूर्वी नेपालबाट उठाउन पश्चिम नेपालका पुन पूर्वी कमाण्डको राजनीतिक तथा फौजी कमाण्ड सम्हालेका थिए । त्यसपछि जनयुद्धको उत्तरार्धमा उनी सवैभन्दा जोखिम मानिएको उपत्यका विषेश कमाण्ड सम्हाल्न आईपुगेका थिए । जनयुद्धकाल भरीनै अध्यक्ष प्रचण्डले नेता पुनलाई सवैभन्दा कठिन जिम्मेवारीमा पठाउने गर्दथे । त्यसबाट नेता पुन खारिएका आएका हुन् ।  उनी माओवादी केन्द्रको पदाधिकारीको रुपमा सचिव भुमिकामा रहेर काम गरिसकेका छन् । जतिबेला उनी सचिवमा निर्वाचित भए त्यतिनै बेला उनले महासचिवको दावी गरेका थिए । रोल्पा जिल्लाकै आफ्ना शिक्षक समेत रहेका कृष्णबहादुर महरालाई पुनले महासचिवमा चुनौती पेश गर्दा अहिलेको महासचिवका अर्का आकाँक्षी जनार्दन शर्मा नेता पुनसँगै थिए । अध्यक्ष प्रचण्डको विषेश आग्रहपछि नेता पुन महरालाई महासचिवमा अघि सारेर सचिवमा कायम रहन तयार भएका थिए । पूर्वअर्थ, ऊर्जा मन्त्री पुन माओवादी केन्द्रको कार्यालयमा डिफ्याक्टो महासचिवको जिम्मेवारीसमेत  लिएर ईन्चार्जको भूमिकामा छन् । अहिले उनी स्वास्थ्य उपचारका लागि चीनमा छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनले चिनियाँ उपमन्त्रीसँगको द्धिपक्षीय भेट गरिसकेका छन् भने केही साता भित्रै नेपाल फर्कने तयारीमा छन् । महासचिवकै अर्का दाबेदार जनार्दन शर्मा प्रभाकरसँग भने पदाधिकारीमा रहेर काम गरेको अनुभव छैन । उनी ०५० सालमा पार्टीको दाङ जिल्ला सेक्रेटरी र ०५६ सालमा केन्द्रीय सदस्य भए । ०५७ सालमा पोलिटब्यूरो भएका शर्मा ०६० जनमुक्ति सेनाको डिभिजन कमाण्डर, डेपुटी कमाण्डर हुँदै माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी पोलिटब्यूरो सदस्य थिए । उनी अहिले माओवादी केन्द्रको स्थायी समिति सदस्य छन् । अर्थमन्त्री शर्मा माओवादी केन्द्रको संगठन विभाग प्रमुख पनि हुन् । अहिले सम्म ४ पटक मन्त्री भएका शर्मा पूर्वगृह तथा शान्ति र ऊर्जामन्त्री भईसकेका छन् । माओवादी केन्द्र उच्च स्रोतका अनुसार अहिले अध्यक्ष प्रचण्ड महासचिवको जिम्मेवामा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझेको दिर्घकालिन भिजन दिनसक्ने चतुर्यता भएको नेताको खोजिमा छन् ।  माओवादी उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भुसाललाई उपाध्यक्ष बनाउन खोजेका छन् । माओवादी केन्द्रको भुसालपछिको सिनियर नेता भएकाले पनि वर्षमान पुन महासचिव बन्ने संभावना धेरै रहेको माओवादी स्रोतको दाबी छ । अध्यक्ष प्रचण्डले उपमहासचिवमा शर्मासँगै शक्तिबहादुर बस्नेतलाई अघि सार्ने तयारीसहित त्यो पद राखिएको बताईएको छ । महासचिवमा बर्षमान किन बलिया ? माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त उमेरले भुसाल र शर्मा भन्दा निक्कै कम उमेरका छन् । समकालिन राजनीतिमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने चर्चा चलिरहँदा काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा आए । एमालेको महासचिव शंकर पोखरेल भए । त्यस हिसावले नेता पुन उपयुक्त पात्र हुन् । पार्टीभित्रको रोलक्रमअनुसार सिनियर रहेकी भुसाल उपाध्यक्ष बन्ने र जुनियर रहेका शर्मा उपमहासचिव बनाउने अध्यक्ष प्रचण्डको योजना रहेको एक नेताले दावी गरे । यसो गर्दा कोही पनि नेता घटुवा भएर बस्न नपर्ने उनको तर्क छ । महासचिवका आकांक्षी शर्माभन्दा शक्ति बस्नेत वरियतामा माथि छन् । बस्नेत शर्माभन्दा तल बस्न नमान्ने एक नेताले बताए । शर्मालाई महासचिव बनाए बस्नेतलाई उपाध्यक्ष बनाउनुपर्ने हुन्छ । त्यसो गर्दा उपाध्यक्षहरुको सूची निक्कै लामो हुनजाने पक्का छ । माओवादी केन्द्रको पूर्व सचिव समेत रहेका पुन अहिले महासचिवको स्वभाविक दावेदार  छन् । प्रचण्डका विश्वासिला नेतासमेत रहेका नेता अनन्तलाई दोस्रो तथा तेस्रो पुस्ताका युवा नेताहरुको ठूलो  साथ छ । महासचिवको आकांक्षी देखिएकी भुसाल उपाध्यक्ष बनेपछि अनन्तको महासचिव बन्ने बाटो खुल्ने माओवादी नेताहरुको दाबी छ । ७ उपाध्यक्ष को को हुँदैछन् ? माओवादी केन्द्रको विधान अनुसार एक वरिष्ठ सहित सात जना उपाध्यक्ष बन्नेछन् । माओवादीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश बन्नेछन् । यस्तै बाँकी ६ जना उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल बन्नेछन् । यस्तै उपाध्यक्षमै मधेश क्लस्टरबाट गणेश साह र मात्रिका यादवमध्ये एकजना बन्ने भएका हुन् ।  दुई उपमहासचिवमा को को ? माओवादी केन्द्रको विधान अनुसार दुई उपमहासचिव बन्नेछन् । जसमध्ये महासचिवमा आकांक्षा देखाएका र महासचिव हुन नसकेका नेता उपमहासचिव हुनेछन् । दुई उपमहासचिवमा शक्ति बस्नेत र जनार्दन शर्मा प्रभाकर हुने गरि यस्तो व्यवस्था राखिएको स्रोतको दावी छ । तीन सचिव माओवादी केन्द्रको विधानमा तीन जना सचिवको व्यवस्था गरिएको छ । लीलामणि पोखरेल, देवेन्द्र पौडेल र चक्रपाणि खनाल तथा मधेश क्लस्टरबाट उपाध्यक्ष हुन नपाएमा मातृका वा गणेश मध्य एक सचिव बन्ने भएका छन् । पम्फा महासचिव बने के हुन्छ ? माओवादी केन्द्रको महासचिवमा पम्फा भुसाल महासचिव बने दुई जना महासचिवका आकांक्षी उपमहासचिव बन्ने भएका छन् । अध्यक्ष प्रचण्डले आफूपछिको कार्यकारी पद महिला नेतालाई सुम्पिएर नयाँ सन्देश दिन खोजेको पनि एक नेताले बताए । यदि भुसाललाई महासचिव बनाए महासचिवका दुई आकांक्षी वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर उपमहासचिव बन्ने दाबी गरे । यि दुई नेता उपमहासचिव बनेको खण्डमा शक्ति बस्नेत भने कोषाध्यक्ष वा सचिव बन्नेछन् ।  पदाधिकारीमा प्रदेश १ शून्य होला ? माओवादी केन्द्रका एक उच्च तहका नेताले दिएको जानकारी अनुसार सो पदीय वर्गिकरणमा प्रदेश १ ले पदाधिकारी नपाउने निश्चित हुनेछ । भौगोलिक अवस्था पनि मिलाउनु पर्ने माओवादी केन्द्रमा दबाब पर्नेछ । यस्तो हुँदा नारायणकाजी समूहका नेता चेपुवामा पर्ने ति नेताले बताए । प्रदेश १ का ईन्चार्जसमेत रहेका राम कार्कीले अहिले सचिव पदमा दाबी गरेका छन् । यदि प्रचण्डले उपाध्यक्ष पद सबै प्रदेशलाई मिलाउन चाहेमा उनी उपाध्यक्ष बन्ने ति नेताले बताए । यस्तो अवस्था आएमा उपाध्यक्ष नबनी गिरिराजमणि पोखरेल उपमहासचिवमा धकेलिने भएका हुन् । कार्की माओवादी केन्द्रका वैचारिक एवं पुराना नेतासमेत हुन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्तावसमेत पेस गरेर चुनौति दिएका छन् ।  पदाधिकारीमा युवा पनि समेट्न माग माओवादी केन्द्रको विधानले १० प्रतिशत युवा समेट्ने व्यवस्था गरेको छ । पदाधिकारी युवा नेतालाई पनि समेट्न माग भइरहेको छ । माओवादी केन्द्रका युवा तथा वैचारिक नेता लेखनाथ न्यौपानेलाई सचिव वा पदाधिकारीमा समेट्न दबाब परिरहेको छ । माओवादी केन्द्रका युवा तथा विद्यार्थीबाट प्रतिनिधि बनेका नेताहरुले उनलाई पदाधिकारीमा समेट्न दबाब दिएका हुन् । पदाधिकारीका आकांक्षी स्थायी र पोलिटब्यूरोमा समेटिने माओवादी केन्द्रले पदाधिकारीमा आकांक्षा देखाएका धेरै नेतालाई पार्टीको स्थायी कमिटी र पोलिटब्यूरो सदस्य बनाएर समेट्ने भएको छ । पदाधिकारीमा दाबी गरिरहेका खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीलगायत नेताहरु स्थायी कमिटी र पोलिटब्यूरोमा समेट्न लागिएको माओवादी स्रोतको दाबी छ ।  

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *